• Monday 27th of July 2026

कोविड–१९ को उपचारको बिल ११ लाख डलर अर्थात् झण्डै १४ करोड


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, ३२ जेठ (रासस–एएफपी) – अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं । तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ । समाचार अनुसार गच मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो । एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए । तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए ।

अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर (करिब १३ करोड ७० लाख नेपाली रुपैयाँ) को थियो । बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो । तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ । मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् । सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् । उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology