• Saturday 25th of July 2026

जरिवानावापत रु दुई करोड राजश्व संकलन


  • गोकर्णेश्वर अनलाइन

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा रु दुई करोड बराबरको राजश्व संकलन गरेको छ । गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु एक करोड ६५ लाख ५७ हजार राजश्व संकलन भएको जनाइएको छ । काठमाडौँ उपत्यका र अन्य जिल्लामा अनुगमन गर्दा १६२ पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागले जनाएको छ । बन्दाबन्दी अवधिमा काठमाडौँ उपत्यका र अन्य जिल्लाबाट आएको गुनासोलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिएर अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले अत्यावश्यक सेवामा राखेर सञ्चालन गर्न दिएका फर्मबाट नै बन्दाबन्दीको मौका छोपी कालोबजारी गर्ने गरेको सूचनानुसार कार्यालय समय नभनी बिहान र साँझसमेत अनुगमन गरी कारवाही गरियो ।

अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन् । बन्दाबन्दीको शुरुका दिनमा विभागको टोल फ्री नम्बर ११३७ मा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा पछिल्लो समय शून्यमा झरेको विभागका अधिकारी बताउँछन् । विभागको तथ्यांकानुसार शुरुआती दिनमा खाना पकाउने एलपी ग्यास, मास्क, पञ्जा र थर्मल गनमा कालोबजारी भएको भन्दै विभागमा उजूरी आउने गरेको थियो । उपभोक्ताको गुनासोअनुसार काठमाडौँ उपत्यकामा विभाग र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बन्दाबन्दी अवधिमा देशभर ६६७ फर्मको अनुगमन गर्दा २८४ फर्म सामान्यावस्थामा रहेको, १ ८४ फर्ममा कैफियत देखिएको र ३० फर्मलाई स्पष्टीकरणका लागि बोलाइएको थियो ।

यसैगरी रु ५१ लाख दुई हजार ६३३ मूल्य बराबरको म्याद सकिएका खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धितकहाँ फिर्ता गर्न लगाइएको थियो भने तीन फर्मबाट परीक्षणका लागि नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको छ । विभागका तथ्यांकानुसार बन्दाबन्दी अवधिमा सुपरमार्केट, औषधि, खाद्य उद्योग, खाद्यान्न पसल, ग्यास पसल, पेट्रोल पम्प, अस्पताल, तरकारी तथा फलफूल पसल, दुग्धजन्य पदार्थको पसल, अनलाइन सपिङ, माछा तथा मासु पसल, सर्जिकल सप्लायर्सलगायत फर्मलाई अनुगमन गरी कारबाही गरिएको छ । सात फर्म कारवाहीमा गत साउनदेखि जेठ २८ गतेसम्म एघार महिनाका अवधिमा अनुचित व्यापारिक कारोबार गरेकाले ६९१ फर्मलाई जरिवाना गरिएको छ । काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका ती फर्मलाई जरिवानास्वरुप कारवाही गर्दा रु तीन करोड ८० लाख १६ हजार राजश्व संकलन भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । चार हजार २५८ फर्मको अनुगमन र रु एक करोड ७१ लाख ३६ हजार आठ सय बराबरको अखाद्य वस्तुको नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology