• Saturday 25th of July 2026

स्थानीय पाठ्यक्रम तयार गर्दै चन्द्रागिरि


  • गोकर्णेश्वर अनलाइन

चन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ । ‘ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ नारालाई सार्थक बनाउन नगरपालिका पाठ्यक्रम निर्माणमा जुटेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले नगरपालिकाअन्तर्गत सञ्चालित विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सर्वाङ्गिण विकासका लागि नगरमा स्थानीय पाठ्क्रम निर्माण गरी लागू गर्न लागेको जानकारी दिनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा इतिहास, कला, साहित्य, संस्कृति, भाषा, लिपी, कानून, वन, कृषिलगायतलाई समावेश गरी स्थानीय पाठ्यक्रम बनाउने नीति लिएको थियो ।

पाठ्क्रम निर्माण गर्न नगरपालिका सामाजिक विकास समितिका संयोजक सन्तोष खड्काको संयोजकत्वमा समिति गठन गरिएको छ । सो समितिमा पाठ्क्रम विज्ञ करुणा धिताल, डा गणेशराज अधिकारी, बासुदेव ढुङ्गेल, संस्कृति तथा इतिहासविद् रविन्द्र रिजाल, पर्यटनविद् गुणराज भट्ट, भीम माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र काप्री, ब्राइट फ्युचर माध्यमिक विद्यालयका प्रधानाध्यापक दयाराम थापा सदस्यमा रहनुभएको छ । नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख कर्णबहादुर भुवाजी सदस्य सचिव रहनुभएको छ । उहाँले स्थानीय पाठ्यक्रमको पाण्डुलिपी लेख्ने काम भइरहेको बताउनुभयो । “विषय, विषय क्षेत्र, विषयवस्तु, तहगत सक्षमता, तहगत उद्देश्य, पाठ्यभार तह भइसकेको छ”, उहाँले भन्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारण गरेको पाठ्यक्रममा स्थानीय विषय पनि समेट्नुपर्ने उल्लेख छ ।

पाठ्यक्रम आव २०७७÷०७८ को असार मसान्तसम्म पुरा गर्ने नगरपालिकाले जनाएको छ । चन्द्रागिरिले पाठ्यक्रममा चन्द्रागिरिको भूगोल, इतिहास, स्थानीय सरकार, संस्कृति सम्पदा, वन, वातावरण तथा सरसफाइ, स्थानीय आर्थिक विकासका आधार, सामाजिक विकासको अवस्था, चन्द्रागिरि पर्यटन, स्थानीय विकास पूर्वाधार, विपद् व्यवस्थापन र सुरक्षालगायत नौ विषयलाई समावेश गरेको छ । नगर प्रवक्ता महर्जनले पाठ्यक्रम कार्यान्वयनको प्रक्रियामा आएपछि नगरपालिका भित्रका विद्यालयमा पढाइ लागू गरिने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology