• Wednesday 29th of July 2026

पिसिआर परीक्षण बढाउन माग


  • गोकर्णेश्वर अनलाइन

सांसदले कोभिड–१९ को सङ्क्रमणको जोखिमका सन्दर्भमा कैलालीको क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कारमा संलग्न व्यक्तिलाई कारवाही गर्न र पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिँदै नेकपाकी शारदादेवी भट्टले सिङ्गो समाज कोरोनामा जुधिरहेका बेला बलात्कारमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिलाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “बलात्कारलगायतका घटनामा संलग्न व्यक्ति कोरोना भन्दा ठूला भाइरस भएकाले दोषीलाई कडा कारवाही होस् । सोही दलकी विमला पौडेलले कोभिड –१९ को सङ्क्रमणसँगै महिला र बालबालिका विभिन्न समस्यामा परेकाले सरकारलाई यसतर्फ विशेष चनाखो हुन सुझाव दिनुभयो ।

नेकपाकै शेरबहादुर कँुवरले भारतका विभिन्न स्थानमा पेशा व्यवसायमा संलग्न रहेकामध्ये रोजगारी गुमाएर घर फर्केकामध्ये सुदूरपश्चिमका क्वारेन्टाइनमा ७० हजारदेखि ९० हजारसम्म बस्दै आएकाले उनीहरुको पीसिआर परीक्षण गर्न ढिलाइ भएकाले परीक्षण केन्द्र विस्तार गर्न तथा बलात्कारको घटनामा संलग्नलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीकै रामनारायण बिडारीले विदेशमा कोभिड– १९ का कारण अलपत्र परेका नागरिकलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विदेशमा गएकाहरु अहिले रोग र भोकले समस्यमा परेका छन्, अहिले सङ्कटमा परेका पैसा नभएका त्यस्ता नागरिकलाई यहाँ ल्याउने व्यवस्था होस् ।” नेकपाकै सुमित्रा बिसीले जाजरकोटको चुदिचाँदीमा भएको जीप दुर्घटनाका घाइतेको उपचार व्यवस्था मिलाउन तथा महिलाहिंसाका घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सरकारसँग आग्रह गर्नुभयो ।

।सोही दलकी विमला घिमिरेले केही समयअघि श्रीमान् गुमाएकी हेटौँडा सूर्यचोककी सुस्मितालाई मारिएको घटनाको गम्भीर छानबिनसहित दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन सुझाव दिनुभयो । नेकपाकै सुमनराज व्याकुरेलले धनुषाको सदा परिवारमा भएको मृत्युको घटनाको छानबिनका लागि माग गर्नुभयो । नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले सरकारले झापाकोे मङ्गलबारे अस्पताललाई मदन भण्डारी अस्पताल नामकरण गर्न खोजेका कारण जनताको विरोध भएकाले पुरानै नाम कायम गरियोस् भन्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology