• Wednesday 29th of July 2026

जीर्ण बेलिब्रिजमा जोखिमपूर्ण यात्रा


  • गोकर्णेश्वर अनलाइन

राप्ती राजमार्गको साँखखोलामा रहेको बेलिब्रिज जीर्ण बन्दा जोखिम बढेको छ । रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका ४ र १२ लाई जोड्ने पुल दिनदिनै जीर्ण बन्दै जाँदा जोखिम बढ्दै गएको हो । विसं २०६२ मा निर्माण भएको बेलिब्रिज निकै जीर्ण बनेकाले सवारीका साधनलाई वारपार गर्न मुश्किल भएको छ । पुलमा रहेका पाता (प्लेट) टुक्रिएका छन् भने राखिएको ठाउँबाट निस्किएका छन् । यसले गर्दा मोटरसाइकललगायत साना सवारीका साधन पुलबाटै खस्ने जोखिम रहेको छ । त्यस्तै ठूला सवारी साधनको भारसमेत थेग्न पुललाई हम्मे भएको छ । निर्माण भएको धेरै समय भइसकेको र बेलाबेलामा सामान्य मर्मत गरिए पनि अब धेरै समय पुलले भार थेग्न सक्ने अवस्था नरहेको स्थानीयवासीको भनाइ छ । पुलमा रहेका फलामका पाता तीन वर्ष अगाडि फेरिएको पनि पुनः टुक्रिँदै गएका हुन् । ‘पुलमा रहेका पाताहरु टुक्रिएर तथा फुत्किएर एक ठाउँबाट अर्को ठाउँ पुगिसकेका छन्,’ स्थानीयवासी नरवहादुर ओलीले भन्नुभयो, ‘पुलमा ठूलाठूला प्वालहरु रहेका छन् जसबाट मोटरसाइकल खस्लान् भन्ने डर छ ।’

दैनिकजसो मोटरसाइकल र अन्य सवारी साधन चिप्लिएर तथा पुलमा रहेका ठूलाठूला प्वाल छल्ने क्रममा दुर्घटनामा पर्ने गरेको ओलीले बताउनुभयो । अहिलेसम्म ठूलो दुर्घटना हुनबाट जोगिए पनि पुल मर्मतमा कसैको ध्यान नजाने हो भने ठूलै दुर्घटना नहोला भन्न नसकिने अवस्था रहेको स्थानीयवासीको भनाइ छ । उक्त पुलबाट दैनिक सयौंँ साना तथा ठूला सवारी साधन वारपार गर्ने गरेका छन् । रुकुम –पश्चिम) र पूर्वलाई दाङ तथा राजधानी काठमाडौंँलगायत जिल्लासंँग जोड्ने राप्ती राजमार्गमा पर्ने यो महत्वपूर्ण पुल हो । पुलमा रहेका पाता मिलाउनेबाहेक पुल मर्मतको योजना आफूहरुसंँग नरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । टुक्रिएका र फुत्किएका फलामका पातालाई वेल्डिङ गर्ने तथा यताउता मिलाउनेबाहेक अन्य कुनै योजना नरहेको उहाँको भनाइ छ । उक्त खोलामा पक्की मोटरेवल पुल निर्माणको काम चलिरहेकाले पनि बेलिब्रिजको मर्मतमा बजेट कतैबाट नआएको उहाँले बताउनुभयो ।

‘बेलिब्रिजको छेउमै पक्की पुल निर्माण भइरहेको छ, पुलको काम आधा पनि भएको छैन, उक्त पुल निर्माण हुँदासम्म मात्र यो पुलको प्रयोग हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर पक्की पुल सकिँदासम्म यो पुलले धान्छ कि धान्दैन भन्ने मुख्य चिन्ता छ ।’ सम्भावित जोखिमलाई ध्यानमा राखी आफूहरुले पुलमा रहेका पाता कस्नेदेखि मिलाउनेसम्मका काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology