• Friday 31st of July 2026

श्रमजीवी पत्रकार विरोधी कदम रोक्न माग


  • गोकर्णेश्वर अनलाइन

नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ दैनिक, केन्द्रीय कार्यालयमा कार्यरत श्रमजीवी पत्रकारलाई जागीरबाट हटाउने उद्देश्यले सरुवा गरिएको भनी नेपाल पत्रकार महासङ्घले विरोध गरेको छ । विश्वभरि फैलिएको कोभिड–१९ को समेत ख्याल नगरी गलत मनसायबाट अन्नपूर्ण पोष्टमा कार्यरत विकास कार्कीलाई कैलाली, विश्वराज खनाललाई इलाम, सुशील पोखरेललाई दार्चुला, डिल्लीराज उपाध्यायलाई हुम्ला, दीपकराज घिमिरेलाई रोल्पा र गोविन्द देवकोटालाई मनाङ सरुवा गरिएकामा महासङ्घले असहमति जनाएको छ ।

“गलत मनसायबाट गरिएको सरुवा तीन दिनभित्र बदर गरी पूर्ववत् काममा नफर्काए एवं शतप्रतिशत तलबसहित श्रमजीवी पत्रकार ऐनअनुसार सेवासुविधा भुक्तानी नगरिए आगामी आइतबार महासङ्घले श्रमजीवी पत्रकारको बृहत् उपस्थितिसहित अन्नपूर्ण पोष्ट घेराउ गर्दै कठोर आन्दोलन घोषणा गरिने स्पष्ट पार्न चाहन्छौँ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले गत असार ३ गते पत्रकारलाई पूरा तलब दिन, बेतलबी बिदामा बस्न बाध्य नपार्न र राजीनामा दिन बाध्य पार्ने कार्य तत्काल रोक्न गरिएको आग्रहलाई पूर्ण बेवास्ता गरिएकामा आपत्तिसमेत प्रकट गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology