• Friday 31st of July 2026

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह


  • गोकर्णेश्वर अनलाइन

भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निकुञ्जमा पुगेको जङ्गली हात्तीको झुण्ड मध्यवर्ती क्षेत्रका गाउँ बस्ती र खेतबारीमा आउन थालेपछि बाली जोगाउन र जीउधनको सुरक्षा गर्नका लागि कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो । भारतको दुधुवा नेशनल पार्कबाट आएको १०÷१५ को सङ्ख्यामा रहेको जङ्गली हात्तीको झुण्ड दिनमा निकुञ्जमा बस्ने साँझ र रातीका बेला निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती तथा खेतबारीमा प्रवेश गर्दै आएको छ ।

दुधुवा नेशनल पार्कमा वर्षाको पानी र बाढीको पानी भरिन थालेपछि आहारा सुरक्षित बासस्थानका लागि जङ्गली हात्तीको झुण्ड हरेक वर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्रमा आउने गरेको छ । जङ्गली हात्तीको झुण्डले आहाराका लागि निकुञ्ज नजिकका बस्तीमा प्रवेश गरी खेतबारीमा लगाइएको अन्नबालीसँगै स्थानीय किसानले घरभित्र भण्डारण गरेको अन्न खाने गरेको छ । निकुञ्ज कार्यालय प्रमुख लक्ष्मण पौडयालका अनुसार हात्तीको झुण्ड बस्तीमा प्रवेश गरे नजिकको निकुञ्जको पोष्ट, सुरक्षा पोष्ट र सुरक्षा निकायमा जानकारी गराउने, आफू सुरक्षित रहने गरी मात्र हात्तीलाई धपाउने कार्य गर्नुपर्दछ ।

हात्ती धपाउँदा एक्लै नहिँडी समूहमा मात्र हिँड्ने, मदिरा सेवन गरी हात्ती धपाउन नजाने, हात्तीको नजिक नजाने, ठूलो टर्च वा आगोको मसाल प्रयोग गर्ने, घर बाहिर बिजुली बालेर उज्यालो गर्ने र हात्ती आउने गौडामा आगो बाल्नेलगायतका कार्य गर्नुपर्ने उहाँको भनाइ छ । साउनको पहिलो सातादेखि दोस्रो साताको समयमा प्रत्येक वर्ष निकुञ्जमा छिर्ने गरेको जङ्गली हात्तीको झुण्ड धानबाली कटाई गरी सकेपछि दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ । पुनः गहुँबाली लगाउन शुरु गरेपछि हात्तीको झुण्ड यहाँ पुग्ने गरेको छ । जङ्गली हात्तीको झुण्डले भीमदत्त, महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिका क्षेत्रमा बढी बालीनालीमा क्षति पु¥याउने गरेको छ । हात्तीको आक्रमणमा परेर स्थानीय बासिन्दाको ज्यानसमेत जाने गरेको छ । जङ्गली हात्तीलाई बस्तीमा छिर्नबाट रोक्नका लागि मेसवायर जडानको कार्यलाई समेत प्रदेश र स्थानीय तहले प्राथमिकतामा राखी कार्य अगाडि बढाउँदै आएका छन् ।

छ लाख बिरुवा वितरण

वृक्षरोपण गरी वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले जिल्लामा छ लाख ४२ हजार बिरुवा उत्पादन गरिएका छन् । नर्सरी तयार गरी डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेका हुन् । उत्पादित बिरुवा सामुदायिक वन, निजी क्षेत्र, राष्ट्रिय वन, सार्वजनिक जग्गामा रोप्नका लागि वितरणको कार्य शुरु गरिएको छ । उत्पादित गरिएका बिरुवामा सिसौ, मसाला, भिमल, टिक, कोइराला, टँकी, बकाइनो, शीतलचिनी, अम्बा, कागती, अशोक, विजयसाललगायतका प्रजातिका बिरुवा रहेका छन् ।

डिभिजन वन कार्यालयमा वनजन्य र फलफूलका बिरुवा गरी दुई लाख ३१ हजार १११ बिरुवा उत्पादन गरिएका छन् । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीका अनुसार प्रदेश सरकारको तर्फबाट एक लाख ५० हजार, सङ्घीय सरकारको सशर्त अनुदानबाट ३१ हजार १११ र जिल्ला पैदावार आपूर्ति समितिबाट ५० हजार बिरुवा उत्पादन गरी निःशुल्करुपमा वितरणको कार्य भइरहेको छ । नर्सरी तयार गरी बिरुवा उत्पादन गर्न रु २१ लाख ३० हजार रकम खर्चिएको छ ।

किसानलाई ढुवानीका साधन खरिद गर्न अनुदान

व्यावसायिक तरकारी खेतीमा संलग्न यहाँका किसानलाई ढुवानीका साधन खरिद गर्न अनुदान रकम उपलब्ध गराइएको छ । खेतबाट बजारसम्म किसानलाई तरकारी ढुवानी गर्न सहजता प्रदान गर्नका लागि कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा ढुवानीका साधन खरिद गर्न रकम उपलव्ध गराएको हो । आव ०७६÷७७ को मापदण्डमा आधारित कृषि बजार अनुदान कार्यक्रमअन्तर्गत कृष्णपुर, भीमदत्त नगरपालिका र बेलडाँडीका समूह तथा समितिमा आबद्ध किसानलाई अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । कृष्णपुरको बालुवाफाँटा, भीमदत्त नगरपालिका १० र बेलडाँडीको बैबाहाका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई ढुवानीका साधन खरिद गर्न अनुदान रकम दिइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार दुई किसान समितिलाई रु १० लाखका दरले एक वटा समितिलाई रु १५ लाखका दरले अनुदान रकम दिइएको छ । अनुदानको रकममा त्यतिनै रकम थपेर किसानले अटोरिक्सा र मिनीट्रक खरिद गरेका छन् । ढुवानीका साधान खरिदका लागि अनुदानको रकम पाइएपछि सहजरुपमा चाहेको बेला सजिलैसँग तरकारी बजारसम्म लैजान सकिएको अनुदान पाएका किसानले बताउनुभएको छ । “भाडाको ढुवानी साधन खोज्दा चर्को भाडा तिर्नुपर्दा तरकारीमा मूल्य बढाएर बेच्नुपर्ने झन्झट थियो”, बालुवाफाँटाका किसान हरिराम चौधरीले भन्नुभयो, “अनुदानमा ढुवानीको साधान खरिद गर्न रकम पाइएसँगै साधन खरिद गरेका छौँ, पालैपालो तरकारी बजारसम्म लैजान्छौँ ।”

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology