• Friday 31st of July 2026

शुरु भो राष्ट्रिय परिचयपत्र वितरण


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र वितरण गरेर उक्त कार्य शुभारम्भ गर्नुभयो । नागरिकको सम्पूर्ण विवरण उपकरण र कम्प्युटरबाट प्रमाणित भएपछि पहिलो सेवाग्राहीको रुपमा रामग्राम–७ निवासी कंहारलाई परिचयपत्र प्रदान गरिएको थियो । गतवैशाखदेखि नै वितरण कार्य शुरु गर्ने लक्ष्य रहे पनि कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण रोकिएको थियो ।

हाललाई सदरमुकाम परासीबाटै परिचयपत्र वितरण गरिने प्रजिअ पाठकले जानकारी दिनुभयो । सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु गरेको थियो । आगामी दुई वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने लक्ष्यअनुसार ७७ वटै जिल्लाबाट परिचयपत्र शुरु भएको जनाइएको छ । उहाँले भन्नुभयो, “हस्तलिखित हस्ताक्षर, दश औँला, औँठा छाप, रेटिनालगायत व्यक्तिको वैयक्तिक र जैविक सूचनालाई आधारिकरुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकअर्कासँग मेल नखाने गरी परिचय नम्बर प्रदान गरिन्छ, यो आधुनिक प्रविधियुक्त परिचयपत्रले नागरिकलाई हरेक क्षेत्रमा सहज हुनेछ ।”

परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस, नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा बसाइँसराइँको प्रमाणपत्र, नागरिकता प्रमाणपत्रमा पति÷पत्नीको नाम नखुलेमा विवाददर्ता प्रमाणपत्र, नागरिकतामा अङ्ग्रेजीमा नाम नखुलेको भए अङ्ग्रेजीमा नाम खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology