• Friday 31st of July 2026

आधारभूत तालीमबाट प्रहरी जवान दीक्षित


  • गोकर्णेश्वर अनलाइन

प्रदेश प्रहरी तालीम केन्द्र गण्डकी प्रदेशमा सञ्चालित प्रहरी जवान आधारभूत तालीम सातौँअन्तर्गत बुधबार पहिलो समूहमा २२० जना दीक्षित भएका छन् । विसं २०७६ साउन २० गतेबाट विधिवत्रुपमा उद्घाटन भई सञ्चालनमा आएको तालीममा सहभागी प्रशिक्षार्थी मध्येमा १६० जना ‘क’ श्रेणी र ६० जना ‘ख’ श्रेणीमा उत्तीर्ण भएका छन् । दीक्षित भएका प्रहरी जवानलाई गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले दर्जानी चिह्नद्वारा शु–सोभन गर्नुभएको थियो । समारोहमा प्रत्येक प्रहरी कर्मचारीले आ–आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, वीरताको प्रतीक खुकुरी र प्रहरी झण्डालाई साक्षी राखी आफू सदैव कर्तव्य निष्ठ भई भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी शपथ लिएका थिए ।

सो अवसरमा प्रशिक्षार्थीबाट कवाज प्रदर्शन गरिएको थियो । तालीममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थी तथा उत्कृष्ट प्रशिक्षकलाई पुरस्कृत गरिको थियो । दीक्षित भई जान लागेका प्रशिक्षार्थीलाई निर्देशन दिँदै प्रहरी नायब महानिरीक्षक अर्यालले तालीम अवधिमा हासिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा इमान्दारीपूर्वक लागू गर्न आग्रह गर्नुभयो । प्रत्येक प्रहरी कर्मचारी प्रहरी सङ्गठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहनसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रदेश प्रहरी तालीम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले सफलतापूर्वक तालीम सम्पन्न गरेका प्रशिक्षार्थीलाई व्यावसायिक तथा व्यक्तिगत जीवन सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले प्रहरी सङ्गठनको आधार स्तम्भको रुपमा रहेको प्रहरी जवानको कूल २३४ कार्य दिनको आधारभूूत तालीम गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरा र विपद् व्यवस्थापन गुल्म बागलुङमा सञ्चालन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology