• Friday 31st of July 2026

विपद्बाट जोगिन पूर्वसूचना प्रणाली


  • गोकर्णेश्वर अनलाइन

टीकापुर, ८ साउन (रासस) : बाढी आउनुपूर्व समुदायमा प्रवाह गरिने सूचना प्रणालीले कैलालीमा जोखिम न्यूनीकरणमा सहयोग पु-याइरहेको छ । विसं २०६७ देखि जिल्लामा कार्यान्वयनमा आएको पूर्वसूचना प्रणालीले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरणमा वरदान सिद्ध भएको छ । विपद् पूर्वसूचना कार्यविधि २०६७ लागू गरेर पूर्वसूचना संयन्त्रको विकास गरिएको हो । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत चेतन खड्का पूर्वसूचना प्रणालीका कारण बाढीबाट हुने क्षति न्यूनीकरण भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कैलालीमा पूर्वसूचना प्रणालीले राम्रो काम गरेको छ । सयममै सूचना पाउँदा धेरै धनजनको क्षति हुनबाट जोगाएको छ ।”

कैलालीमा उपल्लो तथा मध्य तटीय क्षेत्रमा १६ स्थानमा नदी मापन अवलोकन केन्द्र र १९ स्थानमा वर्षा मापन अवलोकन केन्द्र बनाइएका छन् । वर्षायाममा यी केन्द्रमा खतराको सङ्केत अवलोकन गरेर खटिएका कर्मचारीले तल्लो तटीय क्षेत्र र सङ्कटासन्न क्षेत्रमा पूर्वतयारीका लागि सूचना प्रवाह गर्ने काम गर्छन् । नदी मापन अवलोकन केन्द्र लिक्मा वडैपुरका डम्बर नेपाली दिनमा तीन पटक सूचना दिने गरिरहेको जानकारी दिनुभयो । “दिनमा तीन पटक नदी मापन गर्छौं । त्यसको रेकर्ड राख्ने काम गर्छौं र तल्लो क्षेत्रमा सूचना प्रवाह गर्छौं”, उहाँले भन्नुभयो, “बाढी आएको समयमा घण्टाघण्टामा मापन गर्ने र सूचना दिने काम गरिन्छ ।”

डम्बर जस्तै जल तथा मौषम विज्ञान विभाग बाढी पूर्वसूचना केन्द्र कर्णाली चिसापानीकी गेज रिडर पार्वती गुरुङले पनि पूर्वसूचना लिनेदिने काम गरिरहनुभएको छ । “नदीमा पानी बढेको समयमा स्टेशनमै गएर बस्छु, आधा÷आधा घण्टामा पानी बढेको मापन गर्ने काम गर्छु”, उहाँले भन्नुभयो, “यसका साथै दिपायलको सेती नदी, भेरी नदीको पानी मापनको सूचना लिने गर्छु र बर्दिया जिल्लाको पाताभार, र्दौलतपुर, कैलालीको टीकापुरका विभिन्न सूचना प्रणालीका संयोजक, प्रशासन, स्थानीय तह र रेडक्रसलाई सूचना दिने काम गर्छु ।” तल्लो तटीय क्षेत्रमा रहेका सूचनाकर्ताले माथिल्लो क्षेत्रमा रहेका बाढी अवलोकनकर्ताबाट लिएको सूचना स्थानीयस्तरमा पु-याउने काम गर्छन् । “यही प्रणालीको विकास गरेकाले बाढीबाट समुदायमा हुने क्षति कम गर्न सजिलो भएको छ”, टीकापुर–७ बैद्धिका पूर्वसूचना प्रणालीका संयोजक वासुदेव कोइराला भन्नुहुन्छ, “हामी यसरी परिचालन हुन्छौँ कि बाढीको जोखिम बढेमा समुदायमा सूचना पुग्न १५ मिनेट लाग्छ ।”

जिल्ला प्रशासन कार्यालयको भवनभित्रै पूर्वसूचना केन्द्र स्थापना गरिएको छ । यसले कर्णाली र मोहना नदीको जलस्तर तथा निगालीको वर्षाका बारेमा जानकारी दिने गरेको छ । पूर्वसूचना प्रणालीका कारण कैलालीमा बाढीबाट हुने क्षति घटाउन ठूलो सहयोग पुगेको जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो, “पूर्वसूचना प्रणालीअनुसार नै उद्धार संयन्त्र पनि परिचालन हुने गर्छ”, उहाँ भन्नुहुन्छ, “पानीको बहाव तल्लो क्षेत्रसम्म पुग्दा समय लाग्छ । समयमै सूचना गरिए पानीको बहाव तल्लो क्षेत्रमा पुग्दासम्म बस्तीलाई उद्धार गर्न वा सुरक्षित स्थानमा सार्न सकिने भएकाले यो प्रणाली प्रभावकारी छ ।” जिल्लामा साना नदी धेरै भए पनि कर्णाली, मोहना, पथरैया, कन्द्रा र काँडा नदीले वर्षेनी बाढीको जोखिम बढाउँछ । वर्षेनी बाढी तथा नदी कटानका कारण यहाँ ठूलो धनजनको क्षति हुन्छ । कर्णाली चिसापानीमा १० मिटर पानी पुगेमा चेतावनी तह र ११ मिटर खतरा तह मानिन्छ भने मोहना नदीमा दुई मिटर चेतावनी तह तीन मिटर खतराको सङ्केत मानिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology