• Friday 31st of July 2026

गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन


  • गोकर्णेश्वर अनलाइन

पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । सडकमा खसेका पहिरो बुधबार दिनभर मेसिन लगाएर हटाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “साना–ठूला गरेर २०/२५ पहिरो सडकमा खसेका थिए, खैरेनीतर्फबाट एक्साभेटर र गोरखातर्फबाट डोजरको सहायताले दिनभर लगाएर सडक पन्छाइएको हो । अन्य ठाउँको पहिरो सबै क्लियर भयो, एघारकिलोको हकमा अस्थायीरूपमा ह्युमपाइप राखेर भएपनि सडक सञ्चालन गरिएको छ ।

उक्त सडकखण्डको सातकिलो र आठकिलो भन्ने स्थानमा दुई ठूला पहिरो खसेका थिए । जसले गर्दा जिल्ला प्रवेश गर्ने मुख्य सडकमार्ग नै दुई दिनदेखि अवरुद्ध थियो । त्यस्तै वडा नं ११ को एघारकिलो क्षेत्रमा पनि सडक माथिबाट आएको बाढीले कल्भर्टबाट निकास नपाएपछि पक्की सडक नै बगाएको थियो भने स्यालीबजारको मुखैमा चार मिटर पक्की सडक वर्षाका कारण भासिएको थियो । प्रमुख ढकालले भन्नुभयो, “ती स्थानमा भने अस्थायीरूपमा मात्र तत्कालका लागि सवारी पास हुने बाटो बनाएर यातायात खुलाइएको छ ।” जिल्ला प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि एम्बुलेन्स सञ्चालन हुन नसक्दा पछिल्ला दुई दिनमा तीन बिरामीको हेलिकोप्टर चार्टर्ड गरेर उपचारका लागि लैजानुपरेको थियो । सडक सञ्चालन भएपछि बिहानैदेखि सबै प्रकारका सवारी साधन गोरखाबाट बाहिरिने र भित्रने क्रम शुरु भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology