तनहुँको देवघाट गाउँपालिकामा–५ कुँदीमा गण्डकी प्रदेश सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा आधुनिक सभाहल निर्माण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण जोखिम कम गर्न देशभर बन्दाबन्दी गरिएकै समयमा गाउँपालिकामा सभाहल निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । सभाहलमा झ्याल, ढोका हाल्ने र रङ लगाउने काममात्र बाँकी छ । चालू आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहे पनि बन्दाबन्दीका कारण अप्ठ्यारो पर्ने अवस्था आएपछि निर्माण व्यवसायीले सबै मजदूरलाई त्यहीँ नै खानेबस्नेको व्यवस्था गरी निरन्तर काममा लगाएर सभाहल निर्माण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय तनहुँसँग समन्वय गरेर निर्माण सामग्री ढुवानी गरी कामलाई निरन्तरता दिइएको थियो । पाँच रोपनी क्षेत्रफलको जग्गामा निर्माण गरिएको उक्त सभाहल तीन सय क्षमताको छ । सभाहलमा दुई साना कोठा छन् । लागत अनुमान रु एक करोड भएपनि टेन्डर प्रक्रियामार्फत रु ९५ लाख ५४ हजार तीन सय ३३ को लागतमा भवन निर्माण गरिएको छ । त्यस्तै रु चार लाख ८५ हजार चार सय ४१ को लागतमा सभाहलमा जिप्सम लगाउने काम सम्पन्न भएको छ । सभाहलमा कम्पाउन्ड लगायतका काम सम्पन्न गर्न रु २२ लाख ५४ हजार पाँच सय २६ आवश्यक पर्ने देखिएकाले उक्त रकम प्रदेश सरकारसँग माग गरिएको छ ।
“गाउँपालिकामा सुविधासम्पन्न सभाहल नहुँदा कार्यक्रमहरु गर्नुपर्दा समस्या पर्ने गर्दथ्यो, नयाँ सभाहल बनेपछि सहज हुने भयो”, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो । सभाहल निर्माण कम्पनीले गाउँपालिकालाई आइतबार हस्तान्तरण गरेको छ ।
