• Saturday 1st of August 2026

बन्दाबन्दी खुलेपछि सीमामा तस्करी वृद्धि


  • गोकर्णेश्वर अनलाइन

बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै तस्करी धन्दा हुने गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीमा सरकारले बन्दाबन्दी लागू गरेपछि सीमा क्षेत्रमा अवैध धन्दा ठप्प प्रायः थियो तर बन्दाबन्दी खुलेसँगै सीमाका गौँडाहरुमा अवैध धन्दावाल सक्रिय हुन थालेका छन् । यही साउन १२ गते राति डेढ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी गस्ती टोली मेचीनगर–४ बाहुडाँगीको उत्तरी सीमाक्षेत्र प्रसादगौडामा पुग्दा नेपालबाट ठूलो मात्रामा सुपारी भारततर्फ तस्करी गर्ने प्रयास हुँदै थियो ।

प्रहरी पुग्नासाथ तस्करहरुको भागाभाग भयो । दशगजाबाट प्रहरीले रु चार लाख ४१ हजार बराबरको सुपारी बरामद ग¥यो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले सीमामा अवैध धन्दा रोक्न प्रहरीको निगरानी बढाइएको बताउनुभयो । बन्दाबन्दी खुलेसँगै जनजीवन सामान्य हुन थालेपछि तस्करहरुले गतिविधि बढाउनसक्ने आकलन गरेरै सीमा क्षेत्रका गौडाहरुमा गस्तीलाई चनाखो बनाइएको उहाँको भनाइ छ । तस्करहरुले रातिको मौका छोपेर धन्दा चलाउने प्रयास गरिरहेका छन् । साउन १७ गते राति साढे १२ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको गस्तीसँग दशगजा क्षेत्रमा तस्करहरुको जम्काभेट भयो । तस्करहरुले रु तीन लाख मूल्य बराबरको लत्ताकपडा छाडेर भागेपछि ती सामान बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुझाएको थियो ।

स्थानीयवासीका अनुसार धन्दावालहरुले भारतबाट कपडा, मोबाइल सेट, सुर्ती, रासायनिक मल, चिनी, खानेतेल, मोटर पार्ट्सलगायतका सामान तस्करी गरेर नेपाल ल्याउने गर्छन् भने नेपालबाट सिङ्गापुरे सुपारी, मटर, मरीचलगायतका सामान भारततिर लैजाने गरेका छन् । मङगलबार राति प्रहरीको गस्तीले काँकडभिट्टा मूल भन्सार नाकाबाट एक किलोमिटर दक्षिण मेचीनगर–७ गैरीगाउँमा रु चार लाख ७५ हजार मूल्य बराबरका १९ थान महङ्गा मोबाइल सेट बरामद गरेको थियो । भारतबाट लुकाइछिपाई नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले दशगजामा ती सामान बरामद गरेको हो ।

तीन दिनअघि प्रहरीले ज्यामिरगढी र कुमरखोदबाट दशगजा क्षेत्रबाटै रु आठ लाख ५२ हजार ५०० मूल्य बराबरका लत्ताकपडा बरामद गरेको थियो । बन्दाबन्दी खुल्नुअघिसम्म भारतसँगको सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो सङ्ख्या परिचालन गरिएको थियो तर प्रदेश प्रहरी कार्यालयबाट आएका र जिल्लाकै आधाजसो प्रहरीहरु अन्य कामका लागि सीमाबाट फिर्ता भएका छन् । सीमामा प्रहरीको तैनाथी खुकुलो भएको मौकामा तस्करी गतिविधि बढेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology