• Saturday 25th of July 2026

विन्ध्यवासिनी भेटीघाटीमा रु दुई करोड कम


  • गोकर्णेश्वर अनलाइन

पोखराको विन्ध्यवासिनी मन्दिरमा बन्दाबन्दी शुरु भएयता अघिल्लो वर्षका तुलनामा करीब रु दुई करोड भेटीघाटी कम भएको छ । मन्दिरमा दैनिक करीब रु एक लाख बराबर भेटीघाटी जुट्ने गरेकामा साउनमा अन्यका तुलनामा केही बढी सहयोग प्राप्त हुने गरेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी बन्दाबन्दी शुरु भएपछि बिहानबेलुकाका नित्यपूजा र आरतीबाहेक सर्वसाधारणका लागि दर्शन गर्न बन्द गरिएको छ । विन्ध्यवासिनी मन्दिर पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकका साथै भारतबाट आउने पर्यटकले नछुटाउने गन्तव्य हो ।

केही उँचो ठाउँमा भएका कारण यहाँबाट पोखरा उपत्यकाका साथै माछापुछ्रेलगायत हिमाली दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । मन्दिरसहित परिसरमा रहेका शिवालय, सरस्वती, गणेश र राधाकृष्ण मन्दिरले यहाँको महत्वलाई बढाएका छन् । मन्दिर उक्लनका लागि सिँढी चढ्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै अशक्त तथा ज्येष्ठ नागरिकलाई लक्ष्य गरी लिफ्ट पनि निर्माण गरिसकिएको छ । देवीको दर्शन गरेमा मनले चिताएको पूरा हुने जनविश्वासका आधारमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology