• Friday 31st of July 2026

धनगढी एक साताका लागि ‘लकडाउन’


  • गोकर्णेश्वर अनलाइन

सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो ।

भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिनुभयो । लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने जनाउँदै यहाँको लहान , गोलबजार , मिर्चैया र सिरहा नगरपालिकाले यसअघि नै यही साउन ३२ सम्म लकडाउन जारी गरिसकेको छन् ।

गाँजासहित एक पक्राउ

सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका १० बाट तीन केजी ४०० ग्राम लागुऔषध गाँजासहित सिरहा नगरपालिका १६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो । बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शङ्का लागेर जाँच गर्दा लागुऔषध गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायब उपरीक्षक विनोद थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology