• Friday 31st of July 2026

इन्द्रजात्राको साइत सार्वजनिक


  • गोकर्णेश्वर अनलाइन

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको छ । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ । भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७ः०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यस दिन उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानिचा यात्रा गराइने विधि रहेको छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समिति अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

“शास्त्रीय ग्रन्थमा ‘भरण्यां निशि पातयेत्’ भन्ने वाक्य उल्लेख भएअनुसार भदौ २२ गते बिहान ४ः०१ बजेसम्म अश्विनी नक्षत्र रहेकाले ४ः०६ बजे इन्द्रजात्राको लिङ्गो ढाल्नुपर्ने साइत समिति बैठकले शास्त्रीय मान्यताअनुसार सर्वसम्मतिले निर्णय गरेको हो”, उहाँले भन्नुभयो । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले यस वर्ष इन्द्रजात्रा कुन रुपमा मनाउने भन्ने निर्णय भइसकेको छैन । कोरोनाकै कारण यस वर्ष रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रासमेत हुन सकेको छैन । जात्राको व्यवस्थापन गुठी संस्थान काठमाडौँ शाखाले गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology