• Friday 31st of July 2026

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयोः सेना परिचालन


  • गोकर्णेश्वर अनलाइन

नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै आजदेखि आठ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवम् तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा आठ दिनका लागि निषेधाज्ञा लगाइएको हो । नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा सोमबार वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको सङ्क्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार आजदेखि प्रशासन कार्यालयले निषेधाज्ञा लगाइएको हो । हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ ।

जिल्लाको विदुर नपा–८ र दुप्चेश्वर गापा–६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएसँगै निषेधाज्ञा लगाउन थालिएको हो । नुवाकोटमा यही २५ गतेदेखि विदुर नगरपालिकासहित लिखु र सूर्यगढी गाउँपालिकाको सबै क्षेत्र र बेलकोटगढी नपा, ककनी, शिवपुरी र पञ्चकन्या गापाको केही वडामा १० दिनका लागि निषेधाज्ञा कायम गरिएको थियो । आजदेखि थप भएको निषेधाज्ञाको पालना कडाइका रुपमा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय भएको छ । सङ्कट व्यवस्थापन केन्द्रको सोमबार साँझ बसेको बैठकले निषेधाज्ञा प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालन गर्न सिफारिस गरेअनुसार जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गर्ने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology