२७ साउन (रासस÷एएनआई) : गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीजनामा दिनुभएको छ । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए । नागरिकले प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन पनि गरेका थिए । यसैक्रममा प्रधानमन्त्री हसन दीयाबले सोमबार आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री दियाबले लेबनानको राष्ट्रिय टेलिभिजनमार्फत सोमवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको पद त्याग गरेको घोषणा गर्नुभएको थियो । लेबनानका नागरिकले सरकारमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । उनीहरुले सो विस्फोट हुनुमा पनि सरकारको भ्रष्टाचारजन्य क्रियाकलाप जोडिएको बताएका थिए । त्यसैगरी यहाँका नागरिकले वर्तमान प्रधानमन्त्री र सरकारमाथि र असक्षमताको आरोप पनि लगाएका छन् । लेबनानमा आक्रोशमा रहेका मानिसहरूले सोमबार पनि लगातार तेस्रो दिन प्रदर्शन गरेका थिए । राजधानी बेरुतमा भएको प्रदर्शनमा प्रहरीसँग पनि झडप भएको थियो ।
बेरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको भनिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँका २०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने अरु हजारौँ जना घाइते भएका थिए । उहाँले सो टिभीमा दिनुभएको सम्बोधनमा आफूले भ्रष्टाचार नगरेको भन्दै बचाउ पनि गर्नुभएको थियो । तर देशमा भ्रष्टाचार भएका कारणले नै त्यो विस्फोट हुन पुगेको बताउनुभएको थियो । उहाँले लेबननमा भ्रष्टाचार देशभन्दा पनि ठूलो रहेको भन्दै त्यही भ्रष्टाचारमध्येको एक घटना बेरुतमा भएको विस्फोट हो भन्नुभयो ।
