• Friday 31st of July 2026

दाउरा राख्ने ट्रष्टकोे भवन हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

सूर्यविनायक नगरपालिका—४ स्थित धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको दक्षिण बाराही मन्दिर परिसरमा दाह संस्कारका लागि दाउरा राख्ने ट्रष्टकोे भवनको निर्माण सम्पन्न भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) र नगरपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत रु १० लाखको लागतमा सो भवन निर्माण भएको हो । पूर्वमन्त्री एंव प्रतिनिधिसभा सदस्य महेश बस्नेतले आज दक्षिण बाराही मन्दिर परिसर सुधार एवम् व्यवस्थापन समितिलाई सो भवन हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन भक्तपुरको विकास मुलुककै लागि नमूना र प्रेरणादायी बनेको बताउनुभयो । जनप्रतिनिधि निर्वाचित भएसँगै भक्तपुरको विकासले काँचुली फेरेको उल्लेख गर्दै उहाँले भक्तपुरमा मठमन्दिर, परातात्विक सम्पदा, कला, संस्कृति, सडक, ढल, शिक्षा, स्वास्थ्य, हरियाली, पार्क, हनुमन्ते कोरिडोरलगायतका साना तथा ठूला आयोजनाहरु तीव्रगतिका साथ अघि बढिरहेको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनुभएका सांसद बस्नेतले जनताको आवश्यकता र चाहना अनुरुप भक्तपुरको विकास भएको उल्लेख गर्दै यहाँका जनप्रतिनिधिको सक्रियता, जनताको साथ र सहयोगकै कारण विकासले फड्को मारेको बताउनुभयो ।

प्रदेश सरकारको रु ७० लाखको बजेटमा पार्क बनेको, खानेपानीको आयोजना बन्ने क्रममा रहेको, हनुमन्ते कोरिडोर बन्ने क्रममा रहेको चर्चा गर्दै उहाँले जिल्लामा २१ वटा सम्पदाहरुको निर्माण भइरहेको र केहीको सकिएको बताउनुभयो । यस आर्थिक वर्षमा मध्यपुर नगरपालिका क्षेत्र भित्रका आठ वटा मन्दिरको निर्माण तथा पुनः निर्माणको लागि बजेटको व्यवस्थापन भएको जानकारी दिनुभयो । वाग्मती प्रदेश सभा सदस्य शशिजङ्ग थापाले भक्तपुर ऐतिहासिक एवं पुरातात्विक सम्पदाले भरिएकाले यसको संरक्षण गरी भावी पुस्तामा हस्तान्तरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उत्तम थापा, समितिका अध्यक्ष कृष्णलाल घजुँ लगायतले यहाँको ऐतिहासिक एवं पुरातात्विक सम्पदालाई जीवित राख्नुपर्नेबारे बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology