• Friday 31st of July 2026

कागज कारखाना सञ्चालनमा


  • गोकर्णेश्वर अनलाइन

– टेकराज पोखरेल

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकामा कागज उद्योग सञ्चालनमा आएको छ । जिल्लाको मध्यविन्दु–१० अरुणखोलामा झण्डै रु ५० करोडको लागतमा क्वालिटी पेपर इन्डष्ट्रिज प्रालि नामक उद्योग सञ्चालनमा आएको हो । स्वदेशमा खेर गइरहेको कागजजन्य फोहोर तथा स्थानीय कच्चा पदार्थको प्रयोग गर्दै नयाँ कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताइएको छ । . विसं. २०७५ मा स्थापना भएको सो उद्योगले झण्डै दुई वर्षपछि उत्पादन शुरु गरेको सो प्रालिका अध्यक्ष सुकेशकुमार गुप्ताले बताउनुभयो । उद्योगले पहिलो चरणमा प्याकेजिङ (कार्टुन) लाई प्राथमिकता दिएर उत्पादन शुरु गरेको उहाँको भनाइ छ ।

“नेपाललाई प्याकेजिङका लागि आत्मनिर्भर बनाउने उद्देश्यसहित उद्योग सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा सेतो कागजसमेत उत्पादन गर्ने तयारी छ ।” मुलुकलाई आवश्यक पर्ने सेतो कागजको आधा हिस्सा आफ्नो उद्योगले उत्पादन गर्ने लक्ष्य लिएको अध्यक्ष गुप्ताको भनाइ छ । “कागजलाई नेपाली पहिचान दिने र यहाँको कच्चा पदार्थलाई प्रयोग गर्दै कागजमा आत्मनिर्भर बन्ने उद्देश्यलले उद्योग सञ्चालनमा ल्याएका हौँ” उहाँले भन्नुभयो, “कागज उत्पादनका लागि हामीले पूर्ण रुपमा स्वेदशी कच्चा पदार्थको प्रयोगमा जोड दिएका छौँ ।” उद्योगका प्रबन्ध निर्देशक राजन पियाले कागजजन्य फोहोरलाई पुनः प्रशोधन गरी दुई प्रकारका कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको बताउनुभयो ।

यूरोपियन प्रविधिको प्रयोग गरी कागज उत्पादन गरिने भएकाले यो उद्योगबाट वातावरण प्रदूषण नहुने उहाँको दाबी छ । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा चार जना युवा उद्यमीको लगानी छ । दैनिक ११५ टन कागजजन्य फोहोर प्रशोधन गर्ने क्षमताको यो उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपछि १५० जनालाई प्रत्यक्ष रोजगार दिने प्रबन्ध निर्देशक पियाको भनाइ छ । नेपालबाट कागजजन्य फोहोरहरु सस्तो मूल्यमा भारत तथा चीनमा निर्यात हुँदै आइरहेको थियो । उहाँले भन्नुभयो, “नेपालमा खेर जाने कागजजन्य फोहोरलाई प्रशोधन गरी पुनः नयाँ रुपमा उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालन आएको छ ।”

उद्योग पूर्ण रुपमा सञ्चालनमा आएपश्चात पत्रपत्रिका छपाईका लागि आवश्यक पर्ने सबै प्रकारका कागजहरु स्वदेशमै उत्पादन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । कागज उद्योगको इतिहास बोकेको नवलपरासी जिल्लाको गरिमा बढाउनका लागि समेत आफूहरुले नवलपरासीभित्रै कागज उद्योग सञ्चालनमा ल्याएको प्रबन्ध निर्देशक पियाले बताउनुभयो । कुनै बेला मुलुकलाई कागजमा आत्मनिर्भर बनाएको गैँडाकोटको भृकुटी कागज कारखाना विगत केही वर्षदेखि बन्द अवस्थामा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology