• Friday 31st of July 2026

कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा…


  • गोकर्णेश्वर अनलाइन

शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ । प्रशासकीय अधिकृत अर्जुन गौतम नगरपालिकामा कुनै जानकारीसमेत नदिई हिँडेपछि नगरपालिकाको कार्यपालिका बैठकसमेत प्रभावित भएको छ । गौतमले यही साउन २६ गते कार्यपालिकाको बैठकका लागि सबै कार्यपालिका सदस्यलाई सूचना गरेर आफू अघिल्लो दिन नै कसैलाई निमित्तसमते नदिई कार्यालय छाडेर हिँडेपछि बैठक नै बस्न नसकेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताउनुभयो । वर्षात्का समयमा गाडी नचल्ने बाटामा पैदल हिँडेर कार्यपालिका बैठकमा भाग लिन नगरपालिका पुगेका कार्यपालिकाका सदस्य बैठक नबसेकामा दुखित भएको वडा नं ७ का वडाध्यक्ष मोहन पन्थीले बताउनुभयो ।

भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठूलो नगरपालिकामा गोरुसिंँगे–सन्धिखर्क सडकबाहेकका अन्य अधिकांश सडक पहिराले अवरुद्ध बनेका छन् । कार्यालय प्रमुख कार्यालय छाडेर जाँदा नगर प्रमुखलाई जानकारी दिने र निमित्तको जिम्मेवारी दिनुपर्ने भए पनि गौतमले कसैलाई निमित्तको जिम्मेवारीसमेत नदिँदा कार्यलयका अधिकांश कार्य रोकिएको नगर उपप्रमुख टीका रेश्मीले बताउनुभयो । नगर प्रमुख र उपप्रमुखले आफूलाई सरुवा गर्न थालेको जानकारी पाएपछि त्यसको प्रतिरक्षाका लागि आफू काठमाडौँ आएको गौतमले टेलिफोनमा बताउनुभयो । निमित्त कसैलाई दिनु नपर्ने र आफू मातहतको वरिष्ठ कर्मचारी स्वतः निमित्त हुने उहाँको भनाइ थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology