• Saturday 1st of August 2026

गरिबले निःशुल्क पाउने मिटरबक्समा असुलिएको पैसा फिर्ता दिन उजुरी


  • गोकर्णेश्वर अनलाइन

गरिब घरपरिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा विद्युत् विस्तार उपभोक्ता समितिले रकम असुलेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका उपभोक्ताले आफ्नो पैसा फिर्ता मागेका छन् । नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब तथा विपन्न ११५ परिवारका लागि उपलब्ध भएको मिटरबक्स वितरणका क्रममा रकम असुल गरिएको भन्दै ४१ घर उपभोक्ताले वडा कार्यालयमा संयुक्त उजुरी दिएका हुन् । विद्युतीकरणको काम भइरहेको खार्मीमा २९ घर स्थानीय बासिन्दाले पोल ढुवानीका क्रममा समेत उपभोक्ता समितिलाई एक÷एक हजार पैसा तिरेको भन्दै वडा कार्यालयमा रकम फिर्ताका लागि निवेदन दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरिब घरपरिवारका लागि निःशुल्क उपलब्ध भएको मिटरबक्समा रु ७५० देखि रु दुई हजारसम्म रकम असुलेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कार्यसमिति खार्मीका अध्यक्ष हर्कराज राईले बताउनुभयो । निःशुल्क पाउने मिटरबक्समा रकम असुलेको आवाज नेकपा वडा समितिले उठाएपछि साउन २८ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको द्विपक्षीय छलफल भएको थियो । छलफलमा पक्ष र विपक्षबीच कुरा बाझिएपछि पीडितले वडा कार्यालयमा निवेदन दिने र वडा कार्यालयमार्फत रकम फिर्ताका लागि पहल गर्ने निर्णय गरिएअनुसार उनीहरुले शुक्रबार वडा कार्यालयमा निवेदन दिएका हुन् ।

पीडित भनिएका घरधुरीबाट संयुक्तरूपमा निवेदन आएकाले पुनः व्यक्तिगतरूपमा छुट्टाछुट्टै निवेदन दिन आग्रह गरिएको वडाध्यक्ष रामचन्द्र राईले बताउनुभयो । “उहाँहरुले एउटै निवेदनमा सही गराएर ल्याउनुभएको रहेछ । नागरिकता र लालपुर्जाको फोटोकपीसहित पीडितलाई निवेदन ल्याउन भनिएको छ”, उहाँले भन्नुभयो, “निवेदनमा मिटरबक्स र पोल ढुवानीका क्रममा उठाएको पैसा फिर्ता दिन माग गरिएको छ । लालपुर्जाको आधारमा विपन्न हो वा होइन छुट्याएर कारवाही अघि बढाउँछौँ ।” गरिब घरपरिवारलाई निःशुल्क दिनुपर्ने मिटरबक्स सःशुल्क वितरण गरिएको भन्दै नेकपा वडा समिति खार्मीले साउन २६ गते जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाएको थियो ।

प्राधिकरणबाट गरिब तथा विपन्नको नाममा गाउँ लगिएको मिटरबक्स सम्पन्न परिवारलाई पनि विपन्नको सिफारिस दिएर सःशुल्क वितरण गरेको नेकपाको दाबी छ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुसार खार्मीमा विसं २०७६ मा ७३ घरधुरी र २०७७ मा ४२ घरधुरीका लागि निःशुल्क मिटरबक्स लगिएको छ तर उपभोक्ता समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ र महेन्द्र राईले प्रतिघर रु ७५०, रु एक हजार, रु एक हजार २०० र रु दुई हजारसम्म असुल गरेको ज्ञापनपत्रमा भनिएको छ ।

विद्युत् विस्तार समितिले गरिब घरपरिवारबाट शुल्क लिएको प्रमाणसहित कारवाहीको माग गर्दा पनि प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले चासो नदिएको नेकपा वडा समितिले आरोप लगाएको छ । प्राधिकरणका अनुसार मिटरबक्स लिन विपन्नलाई सेवा शुल्कवापत रु ५५ मात्र लाग्ने व्यवस्था छ । आरोपित उपभोक्ता समितिका अध्यक्ष राईले भने मिटरबक्सवापत रकम नलिएको जिकिर गर्दै आउनुभएको छ । खार्मीमा वितरण गरिएको मिटरबक्सको विवादलाई राजनीतिक ‘इस्यू’समेत बनाइएको टिप्पणी गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology