• Saturday 1st of August 2026

पीडितका घर बनाउने विकल्प खोज्दै बरेङ


  • गोकर्णेश्वर अनलाइन

बाढी र पहिरोका कारण विस्थापित भएका परिवारको व्यवस्थापनका लागि जिल्लाको बरेङ गाउँपालिकाले विकल्पको खोजी गर्न थालेको छ । तत्कालका लागि विस्थापित परिवारलाई छिमेकीको घरमा राखेर खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाले दीर्घकालीन बसोवासका लागि विकल्पको खोजी गर्न थालेको हो । गाउँपालिकाले बाढी तथा पहिरो प्रभावितका लागि चालु आर्थिक वर्षको कार्यक्रममा कुनैपनि स्रोत नभएकाले विकल्पको खोजी गर्नुपरेको हो । ‘वर्षाले निम्त्याएको विपत्तिसँग जुध्नका लागि कुनै योजना बनाइएन’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा भन्नुहुन्छ “अब स्रोतहरुको पहिचान गरेर विस्थापितको व्यवस्थापन गर्छौं ।”

विपद् व्यवस्थापन कोषबाट खाद्यान्न उपलव्ध गराएको गाउँपालिकाले खर्च नभएर रकमान्तर गर्न सकिने शीर्षकका बजेट खोज्न थालेको छ । खरका छाना विस्थापन गर्ने कार्यक्रमबाट जस्तापाता उपलव्ध गराउने, सामुदायिक वनको सहयोगमा काठ र स्थानीय क्लब तथा आमा समूहको सहकार्यमा श्रमदान जुटाएर सामान्य घर निर्माणको विकल्प दिइने शर्मा बताउनुहुन्छ । ‘विस्थापित भएका केही आफै पनि घर बनाउन सक्ने अवस्थामा हुनुहुन्छ, कमजोर आर्थिक अवस्था भएका र आफै घर बनाउन नसक्नेको लागि गाउँपालिकाले बासको व्यवस्था गर्नैपर्छ’ शर्मा भन्नुहुन्छ “साझेदारीमा प्रदेश र सङ्घ सरकारसँग पनि सहयोगको अपेक्षा गरेका छौं ।” बरेङमा बाढी पहिरोका कारण १९ परिवार विस्थापित भएका छन् ।

सबैभन्दा धेरै वडा नं १ मा ११ परिवार, वडा नं २ मा ४ परिवार, ३ मा ३ परिवार र ५ मा १ परिवार विस्थापित भएका छन् । ‘तत्कालका लागि खाने व्यवस्था र भत्किएको ठाउँ बढी भत्किन नदिन त्रिपाल दिएका छौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भन्नुभयोे “पालिकाले गरेको नीतिगत व्यवस्था अनुसारको सबै सुविधा उपलव्ध गरायौं तर त्यतिले मात्रै पुग्ने अवस्था छैन् ।” स्रोतको खोजीमा रहेको गाउँपालिकाले हिउँदे अधिवेशनमा एजेण्डा बनाएर कार्यक्रम ल्याउने जनाएको छ । विस्थापितमध्ये दुई जना एकल महिला हुन । उनीहरुको आर्थिक अवस्था कमजोर रहेको र सहयोग गर्ने अन्य कोही नभएकाले तत्कालै व्यवस्थापन गनुपर्ने अवस्था रहेको अध्यक्ष शर्मा बताउनुहुन्छ । गाउँपालिकाले बाढी र पहिरो प्रभावित सबै वडामा पुगेर घरवास तथा खेतीयोग्य जमिनको निरीक्षण, अनुगमन गरेको छ । सबै वस्तुस्थितिका आधारमा निर्णय गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology