• Saturday 1st of August 2026

नेपाल–भारत अनुगमन संयन्त्र बैठकः द्विपक्षीय परियोजनाको द्रुत कार्यान्वयनमा जोड


  • गोकर्णेश्वर अनलाइन

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको संयुक्त रुपमा अनुगमन एवं प्रबन्ध गर्न गठित नेपाल–भारत अनुगमन संयन्त्रको आठौँ बैठक सबै परियोजनाको साङ्गोपाङ्ग समीक्षा गर्दै सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ‘भिडियो कन्फ्रेन्सिङ’ द्वारा काठमाडौँमा भएको उक्त बैठकको सहअध्यक्षता गर्नुभएको थियो । द्विपक्षीय सहयोगअन्तर्गतका परियोजनाको कार्यान्वयनका सम्बन्धमा बैठकमा पूर्णरुपमा समीक्षा भएको परराष्ट्र मन्त्रालयले बताएको छ । नेपाल–भारत द्विपक्षीय सहयोगअन्तर्गत तराई सडक, सीमापार रेलमार्ग, अरुण तेस्रो जलविद्युत् आयोजना, पेट्रोलियम पदार्थ पाइपलाइन, पञ्चेश्वर बहुद्देश्यीय परियोजना, भूकम्पपछिको पुनः निर्माण, सिंचाइ, विद्युत् तथा प्रसारण लाइन र नेपाल प्रहरी प्रतिष्ठान निर्माणको अवस्थाबारे बैठकमा विचारविमर्श भएको थियो ।

त्यसैगरी एकीकृत जाँचचौकी एवं रामायण परिपथ निर्माण, समुदायको विकासमा अधिक प्रभाव पार्ने परियोजना निर्माण, सवारी साधन सञ्चालन हुने गरी महाकाली नदीमाथि पुल, कृषि तथा सांस्कृतिक सम्पदा निर्माणलगायत जारी परियोजनाको अवस्थाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले द्विपक्षीय परियोजनाको द्रुत कार्यान्वयनमा जोड दिँदै तिनको कार्यान्वयनका क्रममा आइपर्ने समस्या सम्बोधन र अवरोध अन्त्यका निम्ति समयमै आवश्यक उपाय अपनाउन सहमति जनाएका छन् । द्विपक्षीय परियोजनाको अनुगमन गर्न तथा तिनलाई निर्धारित समयमा पूरा गर्ने प्रयोजनका निम्ति आवश्यक सहयोग एवं समन्वय गर्न सन् २०१६ सेप्टेम्बरमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट भएको भारतको राजकीय भ्रमणपछि संयन्त्र गठन भएको हो । दुवै पक्षलाई अनुकूल हुने समयमा संयन्त्रको नवाँै बैठक बस्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology