• Saturday 1st of August 2026

तीजको व्रत बस्ने शक्तिका लागि दर खाने तयारीमा महिला


  • गोकर्णेश्वर अनलाइन

हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले कर्मघरमै दर खाएर तीज मनाउँदै छन् । तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् ।

दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् । पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउनुहुन्छ ।

यस वर्ष भने कोरोनाका कारण पहिल्यैदेखि दर खानेलगायत गतिविधि देखिएको छैन । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महीनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ । बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ । यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी यही भदौ ६ गते र ऋषिपञ्चमी पर्व भदौ ७ गते मनाइने समितिले जनाएको छ ।

गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ । तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । काठमाडौँ उपत्यकामा कोरोनाको महामारी फैलँदै गएकाले तीजमा मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो । राजधानीमा निषेधाज्ञासमेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदैछन् । तीज शुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेका छन् । यस वर्ष भने कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज मनाउनुपर्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology