• Tuesday 28th of July 2026

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता


  • गोकर्णेश्वर अनलाइन

वासिङ्टन, ५ भदौ (रासस–एपी) –– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गर्नु भएको छ । इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराउनु भएको हो । इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गर्नु भएको थियो । ह्वाइट हाउसमा प्रधानमन्त्री मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामी इराक छाड्न व्यग्र छौं, र म त्यो दिनको प्रतिक्षामा छु ।” ट्रम्पले भन्नुभयो, “हामी इराकमा थियौं र अब हामी छाड्दैछौं । हामी जतिसक्दो चाँडो इराकबाट बाहिरिने छौं र हामीबीचको सम्बन्ध जहिल्यै सुमधुर छ ।

हामीबीच ठूलै स्तरमा तेलसम्बन्धी सम्झौता हुँदैछ । हाम्रा तेल कम्पनीहरुले इराकमा ठूलो लगानी गर्दैछन् । हाम्रो विश्वासमा इराकीहरुले आफ्नो मुलुकको रक्षा आफैं गर्न सक्षम छन् ।” अमेरिकी सेनाको फिर्तीको समयसीमाका बारेमा सोधिएको एक प्रश्नमा अमेरिकी विदेशमन्त्री माइप पोम्पेओले हाम्रो अभियान समाप्त भएलगत्तै हामी इराक छाड्छौं भन्नुभयो । उहाँले राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्न आदेश दिइसक्नु भएको छ, र त्यही अनुसार काम अघि बढिसकेको जानकारी दिनुभयो । इराकमा हाल पाँच हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । गत महिना अमेरिकाका वरिष्ट सैनिक जनरलले इराकमा सानो संख्यामा अमेरिकी सैनिक तैनाथ रहने बताउनुभएको थियो ।

अमेरिकी केन्द्रीय कमान्डका कमान्डर जनरल फ्रान्क म्याकेन्जीले इराकी सरकारले अमेरिकी सेनाको उपस्थितिलाई स्वागत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकी समर्थनप्राप्त इराकी प्रधानमन्त्री अल–काधिमी गत मे महिनामा देशको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । अमेरिका–इरानबीचको शत्रुतापूर्ण सम्बन्धका कारण काधिमीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलनमा राख्न निकै ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ । इरानको कुनै सन्देश लिएर वासिङ्टन आउनुभएको थियो कि भन्ने प्रश्नमा इराकी प्रधानमन्त्री काधिमीले “आफू अमेरिका भ्रमणमा जाँदा हुलाकी भएर नजाने” बताउनुभएको छ । इराक र इरानबीच सांस्कृतिक र धार्मिक सम्बन्ध रहिआएको छ, र यसलाई अमेरिकाले मान्यता दिएको छ ।

तर इराकभित्र इरान समर्थित लडाकूको चलखेल रोक्न अमेरिकाले विगतदेखि नै प्रयत्न गरिरहेको छ । बुधबार नै अमेरिकी ऊर्जा मन्त्री डान ब्राउलेटले आठ अर्ब डलर बराबरको लगानी गर्न निजी क्षेत्रका अमेरिकी कम्पनीहरुसँग सम्झौता भएको बताउनुभएको थियो । उक्त सम्झौतामा इराकी इन्धन तथा विद्युत मन्त्री र पाँच वटा अमेरिकी कम्पनीबीच हस्ताक्षर भएको थियो । इराकमा लगानी गर्न इच्छुक निजी क्षेत्रका कम्पनीहरुमा हनीवेल, बेकर ह्युजेज, जिई, स्टेलार र चेभरोन रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology