• Saturday 1st of August 2026

निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ । बिरामीको उपचारका लागि अत्यावश्यक रगत मौज्दात कम हुँदै गएको र रक्तदानका कार्यक्रम स्थगन भइरहेकाले सोसाइटीले आवश्यक सुरक्षा उपाय र दूरी कायम गरी कार्यक्रम गर्न र कार्यक्रम नरोक्न विभिन्न सङ्घ संस्थामा आग्रह गरेको हो । भदौ १ गते यताका सबै कार्यक्रम स्थगन भएपछि रक्तसञ्चार केन्द्रमा आगामी दुई÷तीन दिनलाई पुग्ने बाहेक रगत नरहेकाले कार्यक्रम आयोजना गर्न र दुई वा दुई भन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्वन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्समार्फत रक्तदानको प्रबन्ध मिलाईएको रेडक्रसका मन्त्री धर्मराज अधिकारीले बताउनुभयो ।

त्यसैगरी व्यक्तिगत रुपमा रक्तदान गर्न चाहनेलाई प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको र रक्तदातालाई कुनै पनि अवरोध नहुने भएकाले सुरक्षित तरिकाले क्षेत्रीय रक्तसञ्चार सेवासम्म लैजाने र फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित प्रदेशका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ । गण्डकीका अन्य जिल्लाबाट समेत बिरामी रेफर भएर पोखरा आउने गरेकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । पोखरामा दैनिक ७० युनिट रगतको माग हुने गरेको छ ।

रक्तदान नहुँदा रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव अवस्था आउन सक्ने र सुत्केरी महिला तथा मृगौलालगायत डाइलासिसका बिरामी प्रभावित हुन सक्ने अवस्थालाई ध्यान दुई वा सो भन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा एम्बुलेन्स बस पठाउने गरिएको रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो । “साउनमा ३२ दिननै कार्यक्रम भएकाले त्यही मौज्दात रगतबाट अहिलेसम्म कसैलाई दुःख परेको छैन ।” ज्ञवालीले भन्नुभयोे, “हामीसँग भदौ १० सम्म पुग्ने रगत छ, अब रक्तदान कार्यक्रम स्थगित नगर्नुहोस् र सचेत रक्तदाताले रक्तसञ्चारमा आएर भएपनि रगत दिनोस् भनेका छौँ ।” रक्तदान गर्न चाहनेले ०६१–५२१०९१, ९८५६०२११३१ र ९८५६०२७४४४ सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology