• Saturday 1st of August 2026

झोलुङ्गे पुल बनेपछि ४५ मिनेटको बाटो अब पाँच मिनेटमा


  • गोकर्णेश्वर अनलाइन

कास्की,७ भदौ(रासस): कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लस्ती खोलामा झोलुङ्गे पुल बनेपछि दुई वडाका स्थानीयवासी औधि खुुशी भएका छन् । वडा नं ३ घाचोकको डिलिनचौर र वडा नं ४ लाहाचोक पहेँले जोड्ने गरी लस्तीमा १०६ मिटर लामो पुल गत साउन मसान्तमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि घुमाउरो बाटो भएर नदी वारपार गर्नुपर्ने बाध्यता हटेर समयको समेत बचत भएको छ । सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गतको अनुदान सहयोग, गाउँपालिका र स्थानीय उपभोक्ताको साझेदारी गरी रु ४९ लाख ६१ हजार लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै आवतजावतका लागि कम्तिमा पौने घण्टा समय बचत भएको वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताउनुभयो ।

पुल निर्माणका लागि नौलो घुम्ती नेपालले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । उहाँले भन्नुभयो,“फागुन पहिलोसाताबाट शुरु भएको झोलुङ्गे पुल निर्माण लकडाउनमा समेत निरन्तर काम भएर साउन मसान्तबाट सञ्चालनमा आएको छ, दुवैवडाका नागरिकलाई घुमाउरो बाटो भएर आउन÷जान एक घण्टा लाग्ने गरेकामा अब पाँच मिनेटमै वारपार गर्न सकिन्छ ।” घाचोकका युवा विष्णु पोखरेलले पुल निर्माणपछि दुबै वडाका वडाबासीहरूलाई कहालीलाग्दो लस्ती खोलाको असुरक्षित ठाडो उकाली÷ओराली गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको जानकारी दिनुभयो । दुई वडाबीच खेती किसानीमा अर्म÷पर्म गर्न मिल्ने, घाँस काट्न आउन जान सजिलो तथा कृषि उत्पादन विक्री वितरणमा समेत सहयोग पुगेर समग्र क्षेत्रमा समृद्धि सहित भावनात्मक सम्वन्ध समेत थप मजवुत हुने उहाँको भनाई छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबाबु हमालले समितिमा दुवै वडाबाट सदस्य रहेको जानकारी दिँदै कोरोना महामारीमा समेत निरन्तर निर्माण कार्य गरिएको जानकारी दिनुभयो । पुल सञ्चालनपछि दुबै वडाका गरी ४०० घरधूरीका दुई हजार जनसङ्ख्या प्रत्यक्ष लाभाविन्वत भएको बताइन्छ ।क्षेत्रगत कार्यक्रमबाट रु ४५ लाख ६४ हजार ३९८, गाउँपालिकाबाट रु दुई लाख ९७ हजार ६७८ तथा जनश्रमदान ९९ हजार २२६ लागतमा पुल निर्माण भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology