• Saturday 1st of August 2026

परेवा डाँडामा परेवाको मूर्ति बनाउन शुरु


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–१० स्थित परेवा डाँडामा परेवाको एक जोडीे मूर्ति निर्माण शुरु गरिएको छ । डाँडामा रहेको पहरोमा परेवा बस्ने गरेको र पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले विस्थापित भएपछि त्यसको संरक्षण गर्न लागिएको हो । वडाका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थलको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ऐतिहासिक स्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ ।” मूर्ति बनाउन रु छ लाख खर्च हुनेछ । उक्त मूर्ति सात फिट अग्लो हुनेछ । दुम्सीचौरमा दुम्सी चरिरहेको, कुमालटारीमा कुमाल जातिले आरी, हुक्का, घैटो बनाइरहेको, पाथ्राघाटमा माझीले डुङ्गा चलाएको संरचना बनाउने गरी निर्णय गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

यो वर्ष परेवा डाँडामा परेवा जोडी र दुम्सीचौरमा दुम्सी चरिरहेको निर्माण गर्ने योजनाका साथ कामअघि बढाइएको छ । परेवा डाँडामा सडकको मापदण्ड कटाएर परेवाको मूर्ति निर्माण गरिएको उहाँले बताउनुभयो । वडामा कुमाल, बोटे, र दरै जातिको बाहुल्यता रहेको छ । वडाभित्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको पहिचान गरी संरक्षण गर्न नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

बाख्रा मरे

तनहुँको तीन नगरपालिकामा छमासे जस्तो लक्षण देखिने रोगले केही दिनयता २० वटा बाख्रा मरेका छन् । जिल्लाको शुक्ला गण्डकीमा १०, भानु नगरपालिकामा नौ र व्यास नगरपालिकामा एक बाख्रा मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । छमासे रोग सरुवा रोग भए पनि पिपीआर जस्तो उच्च सरुवा रोग नभएको व्यास नगरपालिका पशु विकास शाखाका पशु विकास अधिकृत डा मनोज विश्वकर्माले जानकारी दिनुभयो । उक्त रोग लाग्दा नेपालमै उपचारको लागि डाइग्नोसिस गर्ने प्रविधि नहुँदा समस्या हुने गरेको बताइएको छ । डा विश्वकर्माका अनुसार शुरुमा व्यास नगरपालिका–११ स्थित रातमाटा टोलमा रहेको कृषकको बाख्रा बिरामी भएपछि छमासे रोगको जस्तो लक्षण देखिएको हो । बिरामी परेका बाख्रा मर्दै जान थालेपछि यहाँका कृषकहरु चिन्तित भएका छन् ।

व्यास नगरपालिका–१२ गोल्लाका कृषक गेमबहादुर थापाले बाख्राहरु बिरामी हुँदै गएको र रोग नियन्त्रणमा नआउँदा थप चिन्ता थपिएको बताउनुभयो । यहाँका बाख्रामा पखला लाग्ने, काँम्ने, ज्वरो आउने, पक्षघात हुने, कराउने, पेट फुल्ने, खाना मन नगर्ने जस्ता लक्षण देखिएकाले उक्त रोग भएको आशङ्का गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । बन्दिपुर गाउँपालिकाले १० हजार बाख्रालाई पिपीआर भ्याक्सिन खोप लगाएर सुरक्षित बनाएको छ । गाउँपालिका भित्र रहेका छ वटै वडाका टोल टोलमा प्राविधिक खटाएर कृषकका बाख्रालाई उक्त रोग देखिनुभन्दा अगावै भ्याक्सिन दिइएको हो ।

बाख्रामा पिपीआर रोग लागेपछि बचाउन नसकिने भएकाले रोग लाग्नु अगावै अग्रिम भ्याक्सिन लगाउने अभियान थालिएको बन्दिपुर गाउँपालिका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले बताउनुभयो । त्यसैगरी गाउँपालिकाको सहयोगमा तीन हजार ५०० गाईवस्तुमा खोरेतको भ्याक्सिन र कुकुर र बिरालो गरी २०० लाई रेबिज विरुद्धको सुई लगाएको उहाँले बताउनुभयो । त्यसैगरी गाउँपालिकाले १० वटा माउ बाख्रा पालेका कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बोयर बोका वितरण गरेको छ ।

गाउँपालिकाका २१ जना कृषकलाई रु ४० हजार बराबरको बोयर बोका वितरण गरिएको हो । स्थानीय जातको कुखुरा संरक्षण गर्ने उद्देश्यले पाँच जनालाई कुखुरापालन र पाँच जनालाई बङ्गुर पालनको लागि ५० प्रतिशत अनुदानमा रु ४० हजारका दरले सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology