• Saturday 1st of August 2026

बन्दाबन्दीमा हजार बढी सवारीसाधन कारबाहीमा


  • गोकर्णेश्वर अनलाइन

सरकारले आह्वान गरेको लकडाउनमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३३१ सवारी साधनमाथि ट्राफिक प्रहरले कारबाही गरेको छ । बन्दाबन्दीका बेला जथाभावी सवारी साधन सञ्चालन गर्नेमाथि निगरानी बढाउनाका साथै कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीले लकडाउन थालिएको गत चैत महिनायता हालसम्म सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेको बताउनुभयो । ट्राफिकका अनुसार बितेको पाँच महिनामा यहाँ ९३ बस, ५६ ट्रक, १८७ जीप, १६७ ट्र्याक्टर र ७६५ मोटरसाइकल कारबाहीमा परेका छन् । “अटोलगायत अन्य ५३ वटा सवारी साधनलाई पनि कारबाही गर्दै जरिवाना गरिएको छ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीमा विभिन्न स्थानमा पुगेर कोरोना भाइरसबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन र मास्कलगायत साधन प्रयोग गर्ने खालका जनचेतनामूलक कार्यक्रम गरिए ।”

सवारी कारबाहीबाट ट्राफिक प्रहरीले रु सात लाख ८२ हजार राजश्वसमेत सङ्कलन गरेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । त्यसैगरी कोरोना कहरमा पश्चिमीनाका गड्डाचौकी हुँदै भारतको विभिन्न ठाउँबाट स्वदेश फर्किएका नेपालीलाई घरसम्म पठाउने सवारी साधन व्यवस्थापनमा ट्राफिक प्रहरी जुटेको थियो । त्यस्तै बन्दाबन्दीमा कञ्चनपुरमा २३ वटा सवारी दुर्घटनामा परी आठ पुरुष र एक महिला गरी नौ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । “दुर्घटनामा लकडाउनका समय ४७ जना घाइते भएका छन् ।” उहाँले भन्नुभयो, “अहिले पनि हामी फिल्डमा जोरबिजोर कडाइका साथ लागू गरिरहेका छौँ ।”

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेयता मास्क नलगाएर हिँड्डुल गर्ने व्यक्तिलाई कारबाही गरिरहेको छ । “बन्दाबन्दीका बेला पनि मास्क नलगाएर हिँड्नेलाई प्रहरीले कारबाही गरेको थियो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भन्नुभयो, “निषेधाज्ञा जारी भएपछि पनि बजार क्षेत्रमा कडाइ गर्दै लगिएको छ ।” प्रहरीले निषेधाज्ञा जारी भएयता मात्रै महेन्द्रनगरमा मास्क नलगाएर हिँड्डुल गर्ने ८० जनालाई कारबाही गरेको छ । “हामीले मास्कसमेत सो क्रममा वितरण गरेका छौँ”, थापाले भन्नुभयो, “जोरबिजोर उल्लङ्घन गर्ने ६४ वटा सवारी साधन पनि कारबाहीमा परेका छन् ।” उहाँले शुरुआती चरणमा ७७२ साना तथा ठूला सवारीसाधन सम्झाईबुझाई छाडिएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology