• Saturday 1st of August 2026

कालोपत्रमा गुणस्तरहीन गिटी र बालुवा


  • गोकर्णेश्वर अनलाइन

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकको महुरे–फोक्सिङटार सडकखण्ड कालोपत्रको काममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग भइरहेको पाइएको छ । सो सडकखण्डमा पर्ने राजापानी–सिम्पानी सडकखण्डमा निर्माण व्यवसायी भारत कन्ट्रक्सन सिद्धी–शाही जेभीले पाखाको गिटी तथा गुणस्तरहीन बालुवा प्रयोग गरिरहेको पाइएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको माटोखानी (साविकको राजापानी–२) मा सव–बेस बिच्छ्याउन पाखाबाट ल्याइएको गिटीलाई नै ढलानको काममा प्रयोग गरिरहेको पाइएको वडाध्यक्ष सन्तोष खत्रीले बताउनुभयो ।

“सडकको पर्खाल निर्माणको काममा भित्तामा पाइने रातो रङ्गको ‘गेगरे र खस्रो’ माटोलाई बालुवाका रुपमा प्रयोग गरिरहेको पाइयो”, उहाँले भन्नुभयो, “डे«न निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको गिटीलाई प्रयोग गरिरहेको पाएपछि रोक लगाइएको छ ।” निर्माण कम्पनीका प्रतिनिधि नवीन मैनालीले सडकको काममा क्रसरको गिटी र खोलाको बालुवा प्रयोग भइरहेको दाबी गर्नुभयो । निर्माणस्थलमै खटिइरहेका दिक्तेल सडक आयोजनाका सुपरभाइजर बिन्देश्वर साहले पनि गुणस्तरहीन गिटी तथा बालुवा प्रयोगका विषयमा जानकारी नभएकोे बताउनुभएको छ ।

सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सिम्पानी भञ्ज्याङदेखि महुरेसम्मको २२ किलोमिटर खण्डको कालोपत्रका काम भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र फोक्सिङटारदेखि सिम्पानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्डको काम देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले गरिरहेको छ । महुरे–सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय बासिन्दाले गत पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डको गुणस्तरका बारेमा जनताले आफूहरुसँगसमेत पटकपटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनुभयो । “कालोपत्रको काम गुणस्तरहीन भएको जनगुनासो आएपछि हामीले ठेकेदार कम्पनीलाई खबरदारी गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमासमेत नसच्चिएमा कारवाहीको प्रक्रिया अगाडि बढाउनेछौँ ।”

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक २०७७ साउन ११ गते सम्पन्न गर्नेगरी सडक विभागले ठेकेदार कम्पनीसँग गरेको सम्झौता गरेको थियो । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता मिति सकिएको महिना दिन बितिसक्दा पनि उक्त सडक कालोपत्रको काम आधा पनि नभएको स्थानीय बासिन्दा मिलन राईले बताउनुभएको छ । फराकिलो पार्ने, दायाँबायाँ नाली तथा पर्खालको काम भइरहेको उक्त सडक हिउँदभर मात्र सञ्चालन हुने गरेको छ । दुई वर्षअघिदेखि कालोपत्र थालिएको उक्त सडकको काम सम्पन्न नहुँदा अहिले हिलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ । सोही सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको कामसमेत ठेकेदार कम्पनीको लापरवाहीले अगाडि बढेको छैन ।

फोक्सिङटारमा पक्की पुल नहुँदा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रमुख सडक मानिने दिक्तेल–गाईघाट सडक करीब छ महिना मात्र सञ्चालन हुन्छ । करीब १३४ किलोमिटर लामो दिक्तेल–गाईघाट सडक खण्डको गाईघाटबाट खोटाङको महुरेसम्मको १०१ किलोमिटर सडक कालोपत्र गर्न सडक विभागको रु दुई अर्ब ६८ करोड बजट लगानी छ । शिलान्यास गरिएको २३ वर्षपछि कालोपत्रको काम थालिएको उक्त सकड समयमा सम्पन्न गर्न स्थानीय बासिन्दाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई पटकपटक जिल्ला प्रशासन कार्यालयमा झिकाएर दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology