• Saturday 1st of August 2026

उपत्यकामा ट्राफिक सचेतना


  • गोकर्णेश्वर अनलाइन

महानरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि पुनः विभिन्न जनचेतनामूलक कार्यक्रम शुरु गरेको छ । सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र सडक दुर्घटना न्यूनीकरण गर्न महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानका काल्पनिक ट्राफिक प्रहरी (डमी प्रहरी) बनाएर राखेको छ । डमीका हातमा ट्राफिक नियम उल्लङ्न गरेमा रू ५०० देखि १० हजारसम्म जरिवाना हुनेजस्ता सन्देशमूलक जानकारीसहित बोर्डसमेत राखिएको छ । टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने, ट्राफिक नियमको पनि पालना गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने विश्वास गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरवाही गर्नु हुँदैन भन्ने मनोवैज्ञानिक प्रभाव पर्ने छ । जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गर्ने विश्वास लिइएको छ । महाशाखाका पहलमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी डमी प्रहरी राखिएको हो । मुख्यगरी सिहंहदरबार आसपास माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, प्रज्ञाप्रतिष्ठान घुम्ती, लैनचौर, भोटाहिटी, रणोद्वीप, भद्रकाली, थापाथली, कालिमाटी, कलङ्की, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, ल्होत्से चोक, कृष्ण पाउरोटी, पद्मोदय घुम्ती, नागढुङ्गा र जगातीमा राखिएका छन् ।

त्यस्तै महाशाखाले काठमाडाँै उपत्यकाका विभिन्न सडकखण्डमा कोरोना सङ्क्रमणबाट जोगिने उपाय लेखिएका ६० फ्लेक्स बोर्ड पनि राखेको छ । उक्त बोर्डमा सामाजिक दूरी कायम राखौँ, कोरोनाविरूद्धको स्वास्थ्य मापदण्ड सधैँ पालना गरौँ, जोरबिजोर नियमको पालना गरौँ, सधैँ मास्क लगाएर हिँडौँ, अनावश्यक हिँडडुल नगरौँ, ट्राफिक नियमको पालना गरौँजस्ता सन्देश लेखिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology