• Sunday 2nd of August 2026

प्राकृतिक जीवन शैली बिताए कोरोना जस्ता भाइरसबाट बचिने


  • गोकर्णेश्वर अनलाइन

बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट शनिबार आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताउनुभयो ।

“आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई बिर्सिएर उत्पादन बढाउने नाममा रासायनिक मल भित्र्याएर उब्जनी गर्दा ती अनाजका माध्यमबाट धेरै नसर्ने रोग फैलिएका छन्, दूध धेरै निकाल्न गाई, भैँसीमा लगाइने हार्मोन र एन्टियोबायोटिक जस्ता सुईले समेत मन्द विषको काम गरेका छन्”, उहाँले भन्नुभयो । जैविक कृषिसँगै योग, प्राकृतिक चिकित्सा पद्धतिका उपचार शैली बिर्सँदासमेत आधुनिक पद्धतिका औषधिका माध्यमबाट आएको ‘साइड इफेक्ट’ ले समेत रोग भित्र्याएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ योग तथा प्राकृतिक चिकित्सा विभागका प्रमुख रहनुभएका पोखरेलको भनाइ छ ।

आधुनिक चिकित्सा पद्धति शल्यक्रिया र आकस्मिक रोगका लागि फलदायी भएको उल्लेख गर्नुहुँदै उहाँले अन्य स्वास्थ्य समस्यामा आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धति राम्रो रहेको अनुभव सुनाउनुभयो । “जुनसुकै उपचार पद्धतिका राम्रा कुरा ग्रहण गरी नराम्रा कुरालाई त्यागिदियौँ भने हामी आरोग्यता प्राप्त गर्न सक्छौँ, कुनै पनि पद्धतिको अन्ध समर्थन गर्नुपर्दैन, सबै रोगको उपचार जडिबुटीमै भएकाले त्यसलाई चिन्नुपर्छ”, पोखरेलले भन्नुभयो ।

मानिसको सुत्ने, उठ्ने समयलगायत जीवन शैलीले पनि विभिन्न प्रकारका रोग आउने गरेकाले सचेत हुन उहाँले आह्वान गर्नुभयो । इन्टरनेटलाई दुरुपयोग गरेर घण्टौँ झुम्मिँदासमेत मानिस अनेक रोगका शिकार बनिरहेकाले सन्तुलित जीवन शैली रहेको परम्परागत पद्धतिको पुनःस्थापना गर्न पोखरेलले ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology