• Sunday 2nd of August 2026

वार्षिकोत्सव खर्च ढोरपाटनका बाढी पीडितलाई


  • गोकर्णेश्वर अनलाइन

बागलुङको एक समाचार अनलाइनले आफ्नो वार्षिकोत्सवको रकम ढोरपाटनका बाढी पीडितलाई सहयोग गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा सञ्चालित आदर्शसञ्चार डट कमको प्रथम वार्षिकोत्सवका अवसरमा ढोरपाटनका बाढी पहिरो पीडितका लागि रु एक लाख ५१ हजार १५१ आर्थिक सहयोग गरिएको छ । आदर्श सञ्चार डट कमको वार्षिकोत्सवको खर्च कटाएर र संस्थाका शेयर सदस्यहरुसँग सङ्कलित रकम पहिरो पीडितका लागि सहयोग गरिएको संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिनुभयो ।

“सिङ्गो बागलुङ शोकमा डुबेको छ”, जिसीले भन्नुभयो, “कोरोनाको महामारीबीच वार्षिकोत्सव मनाउने खर्च बाढी पीडितलाई सहयोग गरेका हौँ ।” यही भदौ १७ गते राति भुजी खोलाको बाढीले तटीय बस्ती बगाउँदा ठूलो जनधनको क्षति भएको थियो । बाढीमा परेर हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने २२ जना अझै वेपत्ता छन् । बाढीका कारण ८० घर पूर्णरूपमा क्षति भएका छन् । संस्थाले २०७६ भदौ २१ गतेदेखि आदर्श सञ्चार डट कम सञ्चालनमा ल्याएको थियो ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङ साविक धौलागिरि क्षेत्रकै पहिलो सञ्चार सहकारी हो । विसं २०६३ मङ्सिरमा स्थापना भएको संस्थाले हाल धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । पहिलो वार्षिकोत्सवको अवसरमा औपचारिक कार्यक्रम नगरी यसमा लाग्ने खर्चबापतको रकम संस्थाका तर्फबाट र थप रकम संस्थाका परोपकारी मनबाट प्रेरित शेयर सदस्यहरुबाट सङ्कलन गरी एकद्वार प्रणलीमार्फत वितरण गर्नका लागि ढोरपाटन नगरपालिकाको खातामा जम्मा गरिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology