• Sunday 2nd of August 2026

बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको बताउनुभयो । यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ ।

“किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो”, प्रवक्ता थापाले भन्नुभयो, “पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढेको छ ।” उहाँका अनुसार किशोरीले आफूलाई पाँच÷छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन् । किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कृत भएकी युवतीको मेडिकल जाँचपछि सेफहाउसमा राखिएकोे छ ।

यातायात व्यवसायीको लडेर मृत्यु

यहाँका यातायात व्यवसायी भीमदत्त नगरपालिका–२ का केशवदत्त जोशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले ३५ वर्षीय व्यवसायी जोशीको आफ्नै घरको दुईतले छतबाट लडेर मृत्यु भएको जनाएको छ । “मङ्गलबार राति छतबाट लडेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले भन्नुभयो, “उहाँको महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी सिफारिस गरिएको थियो ।” जोशी तत्कालीन पवनदूत यातायात समितिका उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology