• Sunday 2nd of August 2026

ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरता दिनुपर्ने आवाज अन्तर्राष्ट्रिय मञ्चमा


  • गोकर्णेश्वर अनलाइन

यसवर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार २०२०’ प्राप्त ‘एजिङ नेपाल’का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर)ले ज्येष्ठ नागरिकलाई डिजिटल साक्षरबाट बिमुख राख्न नहुने धारणा अन्तर्राष्ट्रिय जगत्सँग राख्नुुभएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मुख्यालयद्वारा गए राति आयोजित भर्चुअल समारोहमा नेपालका तर्फबाट गौतमलाई विशेष वक्ताका रुपमा सम्बोधन गर्न समय दिइएको थियो ।

विगत १० वर्षदेखि ६० वर्षमाथि उमेरका शहरी क्षेत्रका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत सो संस्थाका अध्यक्ष गौतमले भन्नुुभयो, “ज्येष्ठ नागरिकलाई अहिलेको आधुनिक समाजमा डिजिटल साक्षरताका लागि सहजीकरण गर्नुपर्छ, यदि त्यसो गर्न नसकिएमा आधूूनिक सूचना प्रविधिको लाभबाट ज्येष्ठ नागरिक बञ्चित हुनेछन्, उनीहरुले समाजमा आफूलाई एक्लो र अपमानित महसुस गर्नेछन् ।” युनेस्को मुख्यालयले हरेक वर्ष विश्वभरबाट छानिएका मध्येलाई ८ सेप्टेम्बरका दिन विभिन्न पुरस्कार दिँदै आएको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सिफारिसमा २० हजार अमेरिकी डलर राशिको सो पुरस्कारका लागि एजिङ नेपाल यस वर्ष छनोटमा परेको हो । सो पुरस्कार युनेस्को काठमाडौँ र युनेस्को नेपाल आयोगको समन्वयमा चाँडै सम्बन्धित पक्षलाई हस्तान्तरण हुने युनेस्को आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले जानकारी दिनुुभयो ।

हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड–१९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नारासहित भर्चुअलरुपमा पुरस्कार वितरण हुन लागेको हो । नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको अधिकारीले बताउनुभयो । सन् १९६७ देखि वितरण शुरु भएको अन्तर्राष्ट्रिय साक्षरता पुरस्कारबाट यस क्षेत्रमा कार्यरत विश्वभर ४९५ परियोजना र संस्था पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology