• Sunday 2nd of August 2026

बाढीले सालझण्डी–ढोरपाटन सडकको १० किलोमिटर क्षति, उद्दार र राहतमा सकस


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राती आएको बाढीले राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक खण्डमा ठूलो क्षति पु¥याएको छ । नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटनको देउराली नजिकै सुर्तिवाङमा खसेको पहिरोले खोला थुनिएर अचानक फुटे पछि भूजीखोलाको बाढीले वडा नम्बर ५, ६, ७, ८ र ९ का तटीय बस्तीमा क्षति पु¥याउनुका साथै करिब १० किलोमिटर सडक बगाएको छ । बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडकसहित ११ लघुजलविद्युत् आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । ढोरपाटनको बाढीले सडक बगाउँदा उद्दार र राहतमा समेत सकस भएको छ ।

जिल्ला सदरमुकामदेखि करिब १२१ किलोमिटरको दूरीमा रहेको बाढीग्रस्त क्षेत्रमा राहत पु¥याउन नसक्दा प्राप्त राहत पनि बुर्तिवाङमै थन्किएको छ । ढोरपाटन नगरपालिका–७ दोगाडीबाट अबरुद्ध भएको सडक बोबाङ गाउँ बाहेक बाढीले बगाएको शुरुको गाउँद्वारसम्मको सडक ठाउँ–ठाउँमा बगाएको छ । सडक भएको स्थानमा भूजीखोलाको बाढी आए पछि दुई किलोमिटर पैदल मार्गसमेत छैन । सालझण्डी ढोरपाटन सडक आयोजनासँगको सहकार्यमा तत्कालै सडक खुलाउने गरी काम तीव्ररुपमा भइरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो ।

“धेरै ठाउँमा बाढीले सडक बगाएको छ, भूजीखोलाको तिरैतिर सडक भएका कारण खोलाले अधिकांश सडक कटान गरेको हो”, नगर प्रमुख नेपालीले भन्नुभयो “तत्कालै बाढीग्रस्त क्षेत्रमा सडक पु¥याउन असम्भव रहे पनि सडक सञ्चालन प्रयास जारी छ, तीन वटा डोजरले काम गरिरहेको छ ।” तीन दिनदेखि निरन्तरको प्रयासमा बोबाङको ढोकड गाउँमा यातायात पुग्नेगरी सडक सञ्चालन गरिएको छ । अबरुद्ध सडक खुलाउन सालझण्डी ढोरपाटन सडक आयोजनाले पनि अग्रसरता लिएको छ । आयोजनाले २१ गते स्थलगत अनुगमन गरी सडक मर्मतका लागि स्थानीय तह र जनप्रतिनिधिको रोहबरमा निर्माण कम्पनीलाई जिम्मा दिएको छ ।

बोबाङ गाउँदेखि माथी भूजीखोलाले पहाडको कुना सम्मै करिब १० किलोमिटर सडक बगाएका कारण ट्रयाक खोल्नै समस्या हुने देखिएको सडकको स्थलगत अनुगमनका लागि ढोरपाटन पुग्नुभएको सालझण्डी ढोरपाटन सडक आयोजनाका इञ्जिनियर सुरेश चौधरीले जानकारी दिनुभयो । सरकारको प्राथमिकरणको आयोजना मध्येको एक सालझण्डी ढोरपाटन सडक जतिसक्दो छिटो खुलाउनका लागि स्थलगत अनुगमनबाट लागत स्टिमेट तयार गरि काम थालिएको आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका आयोजना प्रमुख जयलाल मरासिनीले बताउनुभयो । “आयोजनाले सडक बगाएको खबर पाउँदा साथ आयोजनाका प्राविधिकलाई स्थलगत निरीक्षण गरी लागत अनुमान निकाल्न पठाएको थिए” मरासिनीले भन्नुभयो “विस्तृत लागत अनुमान बन्दैछ, हामीले सडक विभाग हुँदै अर्थ मन्त्रालयमा सडकमा पु¥याएको क्षतिको जानकारी गराएका छौं ।”

मरासिनीका अनुसार, तत्कालै साना सवारी ढोरपाटनको देउराली पु¥याउनका लागि रु पाँच करोड लागत अनुमान गरेको भए पनि पुरानै अवस्थामा सडक फर्काउनका लागि झण्डै रु ६० करोड खर्च लाग्ने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ । भूजीखोला बाढी पश्चात धार परिवर्तन गरेका कारण सर्वप्रथम नदीलाई पुरानै अवस्थामा फर्काएर सडक निर्माण गर्न आवश्यक रहेको छ । बाढीले ठूला–ठूला ढुङ्गा बगाएर सडकमा ल्याएको र कुनै स्थानमा चट्टान कटान गर्नुपर्ने भएकाले सडक सञ्चालन कठिन भएको हो । सामान्य ट्रयाक खोलेर राहत सामाग्री लैजाने गरी सोमबारदेखी काम थालिएको हो । सडक सञ्चालन गर्न नगरपालिकाले समेत आफ्नो डोजर खटाएको छ । सडक आयोजनाले थप डोजर परिचालन समेत गर्ने तयारीमा छ । आयोजनाले २० देखि २५ दिन भित्रमा ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology