• Sunday 2nd of August 2026

पुत्रवती मिथिलानी जितिया पर्वको उपवास गर्दै


  • गोकर्णेश्वर अनलाइन

सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती (सन्तानवती) मिथिलानी (मिथिलाका नारी) आज जितिया पर्वको कठोर उपवास (व्रत) मा छन् । असोज कृष्ण अष्टमीका दिन गरिने यो पर्व मिथिलानी बुधबार राति १० बजेअघि ‘ओठङ्न’ (अङ्गुठन पनि भनिन्छ, तीजको दर खाएजस्तै) खाएर शुरु गरेका हुन् । असोज कृष्णपक्ष (पितृपक्ष) को अष्टमी शुरु हुनु एक घडी (करिब साढे दुई घण्टा) पूर्व शुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एक घडी कटाएर समापन गरिने मैथिल परम्परा छ । सोही परम्पारानुसार बुधबार राति १० बजेलगत्तै अष्टमी टेकेको हुँदा व्रतालुले ‘ओठङ्न’ त्यसपूर्व नै खाएका हुन् । ‘ओठङ्न’ मा धेरैजसो दहीचिउरा खाने चलन छ । पर्वमा निराहार व्रत शुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्न, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मार्न, चुँँड्न नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ । आज राति ११ बजेतिर नवमी शुरु हुने भएपनि अहोरात्र व्रत बस्नैपर्ने विधानले शुक्रबार सूर्योदयको एक घडी कटाएर समापन गर्ने व्रतालुको तयारी छ ।

पितृपक्ष सोह्रश्राद्धमा पर्ने यो पर्वमा व्रतालुले सप्तमीका दिन पवित्र स्नानगरि चोखोेनितो खाएर पितृहरुको स्मरण गर्दै व्रत सङ्कल्प गर्ने चलन छ । यस विधिमा तोरीको तेल, पिना र आँपको अचार सूर्यदेवलाई चढाई व्रतालुले दिवङ्गत सासू, बूढी सासू, ज्यामै सासू र जेठानीहरुलाई स्मरण गर्दै व्रत पूरा गर्न आशिश र आफ्ना सन्तानको कल्याणका लागि पुकारा गर्छन् । सोह्रश्राद्धमा छोराहरुले आफ्ना दिवङ्गतलाई तर्पण र पिण्ड दिएर सम्झना गरेजस्तै जितियाका व्रतालुले पनि पितृको स्मरण गर्दछन्, तर दिवङ्गत महिलाको मात्र । व्रतगर्दा दिवङ्गत मातृहरु (सासू, बूढी सासू, ज्यामै सासू र जेठानी ) सँग आफ्ना नाति, पनाति र उनका सन्तानको कल्याण गर भनेर पुकारा गर्ने गरिएको अहिले व्रतमा रहनु भएकी महोत्तरीको बर्दिवास नगरपालिका–२ की रामरती सहनी बताउनुहुन्छ ।

पर्वको मुख्य दिन आज व्रतालु सबै जिमुतवाहनको कथा सुन्दै छन् । अघि द्वापरयुगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र जिमुतवाहनले असोज कृष्ण अष्टमीकै दिन एक विधवा ब्राह्मणीका सातभाइ मरेका छोरालाई ब्युताएका कथाका आधारमा पुत्रहरुको कल्याणका लागि यो व्रत परम्परा शुरु भएको मिथिला लोकसंस्कृति र परम्पराका ज्ञाता बताउँछन् । राजा जिमुतवाहन र जितिया पर्वको चर्चा भविष्य पुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै शुुरु भएको हुनसक्ने महोत्तरीको जलेश्वर नगरपालिका–६ बखरीका बासिन्दा पूर्वप्रशासक एवं साहित्यकार महेश्वर राय बताउँछन् । द्वापर युग सकिएर कलीयुग लागेपछि आमाहरुले आफ्ना सन्तानको कल्याणका लागि के गर्न सक्छन् भनेर देवी पार्वतीको सोधनीमा श्री महादेवले जिमुतवाहन व्रत विधि बताउनुभएको र पार्वतीले सन्तानबाट दुःख पाएकाहरुलाई यो व्रत गर्न सुझाएपछि पर्व परम्परा चलेको हिन्दू मैथिल विश्वास गर्छन् ।

राजा जिमुतवाहनलाई देवरुप मानेर आराधना गरिने यस पर्वमा उनीजस्तै आफ्ना सन्तान पनि प्रतापी होउन् भन्ने कामनासहित यो पर्व गर्ने गरेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ । जिमुतवाहनसँग जोडिएका यस्ता चमत्कारिक कथाहरु अरु निकै रहेको झा बताउनुहुन्छ । मिथिला लोकसंस्कृतिको यो पर्व अभिन्न अङ्ग बनेको छ । हिन्दू मैथिल परम्पराभित्रका सबैजसो जाति समुदायमा यो पर्व मनाउने परम्परा रहेको हुँदा यो मिथिलाको साझा पर्व बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology