• Sunday 2nd of August 2026

सीमान्तकृत परिवारका ६ बुहारीलाई सिलाइकटाइ यन्त्र प्रदान


  • गोकर्णेश्वर अनलाइन

बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका ६ बुहारीले आयआर्जनका लागि सिलाइकटाइ यन्त्र प्राप्त गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि लागु गरिएको बन्दाबन्दी र निषेधाज्ञाका बेला व्यवसाय शुरुात गर्न माग गरिएबमोजिम सो यन्त्र दिइएको राजविराज नगरपालिका– ७ की आशादेवी रामले बताउनुभयो । सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत आयआर्जनका लागि व्यवसाय शुरुआत गराउने उद्देश्यले राजविराज – ६ का चार तथा बोदे बर्साइन नगरपालिका– ५ र तिलाठी कोइलाडी गाउँपालिका–५ बर्साइनका एक परिवारलाई हातेकलका पूरै सामग्री प्रदान गरिएको राजविराज –७ की रेणुकुमारी रामले बताउनुभयो ।

आयआर्जन क्रियाकलाप र आर्थिक रुपान्तरणसम्बन्धी ११ हप्ते तालीममा सहभागी परिवारका बुहारीहरुको नेतृत्वमा व्यवसाय शुरुआत गर्न लागिएको जानकारी दिँदै समग्र उत्थान केन्द्रका कार्यक्रम अधिकृत रामभरोसी महतोले अन्य बुहारीलाई पनि माग भएअनुसारको व्यवसाय शुरुआत गर्न क्रमशः बीउपूँजी प्रदान गरिने बताउनुभयो । युके एडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल एलर्टको साझेदारीमा बीउपूँजी प्रदान गर्न लागिएको जनाइएको छ । प्रदेश नं २ का पाँच जिल्लामा सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत कार्यक्रम सञ्चालित छन् । सञ्चालित कार्यक्रममा २० परिवार सहभागी छन् ।

परिवारका सासूससुरा तथा छोरा–बुहारीले ११ हप्ते तालीम लिएपछि परिवारभित्र लैङ्गिक विभेद कम हुनाका साथै आयआर्जनका लागि सबै सदस्य योगदान गर्न तत्पर बनेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम यादवले बताउनुभयो । सीमान्तकृत समुदायका परिवारमा सचेतना अभिवृद्धिसँगै आर्थिक सशक्तीकरणपछि जीवन सम्मानित बन्ने सहज परियोजना जीविकोपार्जन सल्लाहकार रामनाथ साहले विश्वास व्यक्त गर्नुभयो । भिएसओका लैङ्गिकविज्ञ सुनिलकुमार साहले लैङ्गिक रुपान्तरण अभियानअन्तर्गत आर्थिक सशक्तीकरण तथा आयआर्जनसम्बन्धी अभियान सञ्चालनले सीमान्तकृत परिवारको जीवनमा परिवर्तन आएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology