• Sunday 2nd of August 2026

विपन्न परिवारलाई जस्तापाताको छानो


  • गोकर्णेश्वर अनलाइन

टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णले वडालाई फुसको छानोमुक्त बनाउने अभियान थालेको छ । वडाले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गरेर जस्तापाता वितरण अभियानको थालनी गरेको हो । समृद्ध वडा निर्माण गर्ने लक्ष्यका साथ जस्तापाता वितरण गरेको हो । हालको गाउँपालिका केन्द्रसमेत रहेको सो ठाउँलाई नमूनासँगै व्यवस्थित बनाउन योजनाबद्ध रूपमा अभियान सञ्चालन गरिएको कार्यालयको भनाइ छ । वडा कार्यालयले अभियानका रूपमा फुसको छानो हटाउने कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिक हर्षित भएका छन् । स्थानीयवासी केदार अधिकारीले भन्नुभयो, ‘‘वडा कार्यालयले सञ्चालन गरेका धेरै कार्यक्रम प्रभावकारी छन्, गाउँपालिकाले वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्षित गरेर जस्तापाताको छानो लगाइदिएको छ, यो निकै राम्रो काम हो ।’’

वडाले थोरै बजेटमा भए पनि स्थानीयवासीको औचित्य र आवश्यकताको आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेकोमा सन्तुष्ट रहेको अर्का स्थानीय लक्ष्मी अधिकारीले बताउनुभयो । गत वर्ष १३ विपन्न घरपरिवारको खरको छानो हटाउनका लागि जस्तापाता वितरण गरेको थियो भने यस वर्ष १५ परिवारलाई वितरण गर्ने लक्ष्य रहेको कार्यालयको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि अभियान सञ्चालनमा ल्याइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । वडाध्यक्ष राईले भन्नुभयो, ‘‘वडाले स्थानीयको समस्यालाई सूक्ष्म अध्ययन गरेर कार्यक्रमहरु सञ्चालन गरेको छ, हुन त हामीसँग धेरै ठूलाठूला योजना तथा कार्यक्रम सञ्चालन गर्ने बजेट छैन तर पनि स्थानीयवासीको स–साना समस्यालाई बुझेर काम गरियो भने जनतालाई खुशी बनाउन सकिँदो रहेछ ।’’

वडा कार्यालयले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत् र कृषिका क्षेत्रमा पनि योजनाबद्ध रूपमा काम गरिरहेको वडाध्यक्ष राईले बताउनुभयो । ‘‘वडाको सक्रियतामा वडाका सबै ठाउँमा विद्युत् विस्तार भएको छ भने कृषिमा लाग्नेहरुका लागि आर्थिक सहयोग गरिरहेका छाँै, धेरै कृषकलाई अनुदानमा उन्नत जातको बोका वितरण गरेका छौँ” वडाध्यक्ष राईले भन्नुभयो । गरिब तथा विपन्न परिवारको आर्थिक अवस्था सुधार गर्न विपन्न लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन भइरहेको वडा कार्यालयको जिकिर छ । गाउँपालिकाले समग्र क्षेत्रलाई उज्यालो बनाउने लक्ष्यका साथ नौ वटै वडामा विद्युत् विस्तारको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । गाउँपालिकाले शुरुआती कालबाट नै विद्युत् विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो । त्यस्तै भोजपुर नगरपालिकाले पनि फुसको छानो हटाउने अभियानको थालनीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको नगरपालिकाका उपप्रमुख ममिता राईले जानकारी दिनुभयो । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology