• Sunday 2nd of August 2026

सोलु करिडोरको चौथोपटक म्याद थप


  • गोकर्णेश्वर अनलाइन

निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो । सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण गरिएको भएपनि विभिन्न कारणले समयमानै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ११ तिङ्लामा सवस्टेशन निर्माण भइसकेपनि करिडोरको काम अझै सक्ने छाँटकाट छैन । सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको भएपनि कोरोनाका कारण समस्या भएको भन्दै आगामी डिसेम्बर ३१ अर्थात पुस १६ गतेसम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमले बताउनुभयो ।

आयोजनाको काम गर्न समस्या नभएपनि कामदार ल्याउन समस्या भएको उहाँको भनाइ थियो । भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा म्याद थपिएको समयमासमेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ । सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ टावर बनाउनुपर्ने भएपनि अहिलेसम्म २८१ वटाको फाउण्डेशनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नुपर्ने छ तर पाँच वटाको सुस्तगतिमा काम भइरहेको छ ।

यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारणलाइनमार्फत रुम्जाटार सव स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिएपनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ । यस्तै सोलुखोलामानै निर्माणाधीन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology