• Sunday 2nd of August 2026

देवघाटमा शालिग्राम संरक्षण शुरु


  • गोकर्णेश्वर अनलाइन

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरिएको छ । निकट भविष्यमा निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्राम ढुङ्गाको सङ्कलन र संरक्षण शुरु गरेको हो । क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिनुभयो । कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिले पहल शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

“वेदशास्त्रमा पनि गण्डकी र शालिग्रामको विशेष महिमा रहेको बताइन्छ, दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्म आएको तटीय क्षेत्रमा पाइने शालिग्राम महत्वपूर्ण सम्पदा हुन्”, उहाँले भन्नुभयो, “कतिपयले शालिग्रामको व्यापार व्यवसाय गरेर बेच्न पनि लागे, हामीले यसको व्यापार व्यवसाय गर्नुहुन्न भन्नका लागि संरक्षणको अभियान थालनी गरेका हाँै ।” शालिग्राम संरक्षणले धार्मिक पर्यटन प्रवद्र्धन हुने र शालिग्राम दर्शन गर्न देवघाटधाम जानुपर्छ भन्ने सन्देश दिन लागिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार सङ्ग्रहालय निर्माणका लागि एक वर्षभित्रै काम शुरु गरिने र अहिले विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागिएको छ ।

पर्यटन विभागबाट देवघाट क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा रु ५० करोड बराबरको योजना परेको र त्यसका लागि केही समयभित्र प्राविधिक आउने तयारी गरेका छन् । देवघाटमा अवस्थित मणिमुकुन्देश्वरी मन्दिर क्षेत्रमा रहेको पार्क वरिपरि नै सिसमहलको पनि डिपिआर अध्ययन गरिने उहाँले जानकारी दिनुभयो । “सङ्ग्रहालय बनाउने कि मन्दिरको रुपमा लैजाने भन्ने विषयमा छलफलकै क्रममा छौँ, पूजा गर्न मिल्ने र दर्शन गर्न मिल्ने हिसाबले लैजानुपर्छ भन्ने पनि जोड छ”, उहाँले भन्नुभयो ।

मुक्तिनाथदेखि बगेर आउने कालीगण्डकी देवघाटमा आएर त्रिशूली नदीसँग मिसिन्छ । यहाँ शालिग्राम प्रशस्त मात्रामा पाइने गरेको बताइन्छ । यहाँ पाइने शालिग्रामको महत्व विशेष रहेको धार्मिक अगुवाले बताएका छन् । कमलाकान्त सुवेदीले शालिग्रामको नित्य पूजा गर्नाले करोडौँ यज्ञको फल मिल्ने उल्लेख गर्नुभएको छ । “भिन्नभिन्न चक्र र आकृतिकअनुसार भगवान्का भिन्नभिन्न अवतार र स्वरुप शालिग्राममा मान्न सकिन्छ भनी पुराणमा लेखिएको छ”, क्षेत्र विकास समितिले प्रकाशित गरेको देवघाट दर्पणमा उहाँले लेख्नुभएको छ । उहाँका अनुसार प्रायः सबै हिन्दू धर्मावलम्बीमा पाएसम्म शालिग्राम घरमा राख्ने र नित्य पूजा गर्ने प्रचलन छ ।

स्मृति र पुराण आदि धर्मग्रन्थमा यसको ठूलो महत्व वर्णन गरिएको छ । लेखक सुवेदीले पुस्तकमा उल्लेख गर्नुभएको छ, “बाराह पुराणअनुसार एक पटक मुक्ति क्षेत्रमा शालङ्कयानमुनिले भगवान्को ठूलो तपस्या गर्नुभयो । मुनिको तपस्या र स्तुतिबाट प्रशन्न भगवान्ले दर्शन दिई त्यस क्षेत्रलाई शालिग्राम क्षेत्रको रुपमा रहने र आफू पनि त्यही नै रहनेसमेत बचन दिनुभयो ।” पुराणमा उल्लेख गरिएबमोजिम शालिग्रामको पूजा गर्दा मन्त्र उपचार सामग्री कम भए पनि पूजा अपूर्ण नहुने, शालिग्राममा आकृतिकअनुसार जुनसुकै देवताको पूजा गर्न सकिने, शालिग्रामका समिपमा श्राद्ध गर्दा पितृलाई अक्षय तृतीय मिल्ने, शालिग्रामको जलसँग छोइएपछि खान नमिल्ने अरु देवताको नैवेद पनि खान योग्य हुने उल्लेख गरिएको छ ।

यो पनि हेर्नुहोस 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology