• Sunday 2nd of August 2026

नवलपुरमा थपिँदै साना उद्योग


  • गोकर्णेश्वर अनलाइन

नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरमा गत वर्ष पाँच सय ४६ साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका कार्यालय प्रमुख बिक्रम सुवेदीका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा पाँच सय ४६ साना उद्योग थपिएका छन् । गत वर्ष सबैभन्दा धेरै भदौ महिनामा मात्रै ९० वटा साना उद्योग थपिएका छन् । कोभिड– १९ को प्रभावका कारण वैशाख र जेठ महिनामा एउटा पनि उद्योग दर्ता नभएको प्रमुख सुवेदीले बताउनुभयो । असारमा भने ३६ वटा उद्योग थप भएका छन् । जिल्लामा थपिएका उद्योगमध्ये धेरै जसो कृषि तथा पशुपालनसँग सम्बन्धित रहेका छन् ।

त्यसपछि पर्यटनसँग सम्बन्धित साना उद्योग दर्ता भएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि तथा पशुपालनमा विभिन्न खालका अनुदान सरकारले प्रदान गरिरहेको छ, त्यसैले योसँग सम्बन्धित उद्योग खोल्नेको सङ्ख्या बढेको हुन सक्छ ।” कार्यालयका अनुुसार गत आर्थिक वर्षमा ४४ वटा साना उद्योग बन्द भएका छन् । वाणिज्यतर्फ गत वर्ष चार सय ९९ वटा पसल व्यवसाय थप भएका छन् । गत आर्थिक वर्षमा एक सय आठ वटा पसल व्यवसाय बन्द भएका छन् । कोभिड– १९ को महामारीले गर्दा भएको बन्दाबन्दीले वाणिज्यतर्फ पनि दुई महिनामा एउटा पनि पसल व्यवसाय थपिएका छैनन् । वैशाख र जेठ महिनामा एउटा पनि पसल व्यवसाय नथपिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

गत आर्थिक वर्षमा थपिएका उद्योगहरुमा सात सय ४६ उद्यमीसहित कूल दुई हजार ६३८ जनाका लागि रोजगारी सिर्जना भएको उहाँको भनाइ छ । जिल्लामा साना उद्योग थपिने क्रम अहिले झन बढेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । बन्दाबन्दीसँगै चालु आर्थिक वर्षको पहिलो महिनामा साना उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै ६४ वटा साना उद्योग दर्ता भएका छन् ।

यो पनि हेर्नुहोस:

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology