• Tuesday 28th of July 2026

युद्ध हुनुको कारणको खोजी नभई युद्धबिराम हुँदैनः तालिबान


  • गोकर्णेश्वर अनलाइन

दोहा, १ असोज (रासस–एएनआई) –– अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता शुरु भएलत्तै तालिबान समूहले हिंसात्मक कारबाहीमा कमी ल्याएको दाबी गर्नु भयो । उहाँले तर सरकारी फौजले आक्रामक कारबाही जारी राखेकामा दुःख व्यक्त गर्नुभयो । प्रवक्ता नईमले भन्नुभयो, “बीस वर्षदेखिको युद्ध एक घण्टामै अन्त्य हुन सक्दैन भन्नेमा सबै विश्वस्त हुन आवश्यक छ ।

हाम्रो दृष्टिकोणमा वर्तमान समस्या र युद्धका मुख्य पक्षहरुका बारेमा छलफल गरिनु सान्दर्भिक हुन्छ ताकि यो समस्यालाई स्थायी रुपमै समाधान गर्न सकिन्छ ।” उहाँले थप्नुभयो, “मानिलिउँ, आजै हामीले युद्धबिराम घोषणा गर्यौं, तर भोलि हामी सहमतिमा पुगेनौं भने त्यसको जिम्मेवारी कसले लिन्छ ? के हामीले फेरि युद्ध शुरु गर्नु ? यसको अर्थ के हो ?” उहाँले तालिबानको मुख्य चाहना नै अफगानिस्तानलाई इस्लामिक राष्ट्र बनाउनु हो र यसका बारेमा आमजनता र मुलुक नै दृढ छ भन्नुभयो । प्रवक्ता नईमले भन्नुभयो, “हाम्रो अर्को उद्देश्य अफगानिस्तानमाथिको विदेशी अतिक्रमण अन्त्य गर्नु हो ।” उहाँले वार्तामा उतारचढाब भए पनि अफगान र तालिबान प्रतिनिधिमण्डलबीचको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले आफूहरु बलियो इच्छाशक्ति र प्रतिबद्धताका साथ शान्ति प्रक्रियामा प्रवेश गरेको बताउँदै विभिन्न जटिलताका बाबजूद यो प्रक्रिया सहज रुपमा अघि बढ्नेछ भन्नुभयो । अफगान सरकार र तालिबानबीच कतारको दोहामा वार्ता हुन थालेको पाँच दिन पुगिसकेको छ । यो अफगान सरकार र तालिबानबीचको पहिलो औपचारिक वार्ता हो । सूत्रका अनुसार औपचारिक सम्झौताका लागि दुबै पक्षबीच कार्यविधि र विधिका बारेमा सहमति जुट्न सकेको छैन ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology