• Saturday 25th of July 2026

‘क्वारेन्टिन राखेका विद्यालयमा भर्ना हुन मान्दैनन् विद्यार्थी’


  • गोकर्णेश्वर अनलाइन

सरकारले आजदेखि विद्यार्थी भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको छ । सोही निर्देशनानुसार विद्यालयले भर्ना अभियान शुरु गरेका छन् तर क्वारेन्टिन बनाएका विद्यालयमा भने विद्यार्थी भर्ना हुन हिच्किचाइरहेका छन् । क्वारेन्टिन भएका विद्यालयमा निर्मलीकरण गरिएको भए पनि अभिभावक तथा विद्यार्थीहरु हिच्किकाउने गरेको मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो । लामो समयको बन्दाबन्दी हुनु र जेठ १० गतेदेखि विद्यालयमा क्वारेन्टिन बनाएको हुँदा विद्यालयमा भर्ना हुने सङ्ख्यामा पनि कमी आएको उहाँको भनाइ छ । “यो समयमा १५÷१६ सय विद्यार्थी भर्ना हुनुपर्ने हो तर अहिले जम्मा छ÷सात सय मात्रै विद्यार्थी भर्ना भएका छन्”, उहाँले भन्नुभयो ।

विद्यालयमा निर्मलीकरण गरिएकाले कुनै पनि जोखिम नहुने भन्दै यस विषयमा विद्यार्थी र अभिभावकलाई परामर्श दिने गरेको भए पनि विश्वासको वातावरण बन्न नसकेको जनता सँस्कृत मावि बिजौरीका प्रधानाध्यापक पद्मबहादुर रावतले बताउनुभयो । “हामीले विद्यार्थीको घरघरमा गएर भर्ना गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अभिभावकहरुले क्वारेन्टिन भएको विद्यालयमा भर्ना गर्न असहज मान्नुहुन्छ ।” त्यस्तै गुरुजजुर मावि तुलसीपुरमा पनि क्वारेन्टिन बनाइएको थियो । त्यहाँ पनि भर्ना हुन समस्या भएको छ । सबैले क्वारेन्टिन राखेका विद्यालयमा कोरोना सर्ने त्रास हुन्छ भनी गाउँमा हल्ला गर्ने गरेको भए पनि आफूले भने निर्मलीकरण गरेकाले कुनै समस्या नहुने भनी सबैलाई बुझाउने गरेको मावि सेन्टरकी छात्रा सरिता भण्डारीले बताउनुभयो ।

लामो समय विद्यालय जान नपाउँदा विद्यार्थीको सिर्जनशीलतामा वृद्धि नभएको उहाँले गुनासो गरेको छन् । तुलसीपुर उपमहानगरपालिकाले विद्यालयमा भर्ना भए पनि टोल–टोलमा गएर सामाजिक दूरी कायम गरेर पढाउने नीति अघि बढाएको छ । सोहीअनुसार विद्यालयले गतिविधि अघि बढाएका छन् । जिल्लाका क्वारेन्टिन भएका अधिकांस विद्यालयलाई खाली गरी निर्मलीकरण गरिएको छ । अहिले क्वारेन्टिमा बस्नेको सङ्ख्यामा कमी आएको र सबैलाई एकै ठाउँमा राख्दा खर्च पनि कम हुने भएकाले एकै स्थानमा राखिने र विद्यालयलाई भने खाली गरिएको तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमले बताउनुभयो । कुनै विद्यालयमा विद्यार्थी कम छन्, भने एउटा बेन्चमा एउटा विद्यार्थी राखेर पठन–पाठन गराउन सकिने र बढी विद्यार्थी भएकामा टोल–टोलमा गएर पढाउन सकिने उहाँको भनाइ छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology