• Sunday 2nd of August 2026

रोल्पामा सहज प्रसूति सेवाः नवजात शिशु सेवा अभाव


  • गोकर्णेश्वर अनलाइन

रोल्पा, २ असोज (रासस): रोल्पा अस्पतालमा सुरक्षित प्रसूति सेवा लिन गएकी रोल्पा नगरपालिका –८ जङ्कोटकी मेलिना बुढाले गत साउनमा छोरा जन्माउनुभयो । आमाको अवस्था सामान्य रहे पनि नवजात शिशुमा भने श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले शिशुलाई जिल्ला बाहिर सिफारिश ग¥यो । थप उपचारका लागि जिल्ला बाहिर लैजानेक्रममा अक्सिजन सकिएपछि शिशुको बाटैमा मृत्यु भयो । सुरक्षित प्रसूतिका लागि गत भदौ दोस्रो साता रोल्पा अस्पताल भर्ना भएकी रोल्पा नगरपालिका –२ की रमिला थापाले शल्यक्रियाबाट शिशुको जन्म दिनुभयो । नवजात शिशुमा श्वासप्रश्वास समस्या देखिएपछि अस्पतालले जिल्ला बाहिर रिफर ग¥यो । सुत्केरीविना नवजात शिशुलाई थप उपचारका लागि आफन्तले भैरहवास्थित अस्पताल लगे । करीब एक हप्ताको उपचारपछि नवजात शिशुको स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज ग¥यो ।

गत माघमा प्रसूति सेवा लिन रोल्पा अस्पताल पुगेकी रोल्पा परिवर्तन गाउँपालिका वडा ३ की गङ्गासरी बुढाले अस्पतालमा शिशुलाई जन्म दिनुभयो । जन्मँदा स्वस्थ शिशुमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालले जिल्ला बाहिर रिफर ग¥यो । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) मा एक महिनाको उपचारपछि नवजात शिशुमा स्वास्थ्य सुधार आएपछि बुढा परिवार रोल्पा फर्कियो । सुरक्षित प्रसूति सेवा दिइरहेको रोल्पा अस्पतालमा नवजात शिशुमा स्वास्थ्य समस्या देखिँदा भने पर्याप्त स्वास्थ्य सुविधा छैन । शल्यक्रियाद्वारा शिशु जन्माएको घाउ सुक्न नपाउँदै नवजात शिशुमा देखिने स्वाथ्य समस्याले रोल्पाका सुत्केरीले मानसिक र आर्थिक समस्या भोग्दै आएका छन् । अस्पताल विकास समितिका अध्यक्ष फबीन्द्र आचार्यले रिफर गरिएका बिरामीका लागि सम्बन्धित एम्बुलेन्सहरुले थप अक्सिजनको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

प्रसूति सेवा लिन आउने आमा र शिशुको ज्यान बचाउन स्वास्थ्यकर्मीले अधिकतम प्रयास गरिरहने भए पनि शिशुहरु निसास्सिएर मृत्युसम्म हुने समस्या बढिरहेको बताउँदै अध्यक्ष आचार्यले भन्नुभयो, “भेन्टिलेटर व्यवस्थापनका लागि प्रदेश सरकारसँग पहल गरेका छौँ ।” रोल्पा अस्पतालले १५ शय्याको मात्रै स्वाथ्य सेवा उपलव्ध गराइरहेकाले एनआइसियु सुविधा दिन नसकिएको बताउँदै अध्यक्ष आचार्यले अस्पतालको स्तर वृद्धिसँंगै ५१ शय्या पुगेपछि सो सुविधा उपलब्ध हुने बताउनुभयो । कोभिड १९ महामारीपछि भएको लकडाउन अवधिमा रोल्पा अस्पतालमा प्रसूति सेवा लिन गएकामध्ये जन्मपछि श्वासप्रश्वासमा समस्या देखिएपछि सात नवजात शिशुलाई जिल्ला बाहिर रिफर गरिएको थियो भने तीन शिशुको मृत्यु भएको थियो । एउटा शिशुको पेटभित्रै मृत्यु भएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिनुभयो ।

मृत्युका कारणमा तौल कम हुनु, महिना नपुगेर जन्मनु र निसास्सिनु रहेको जनाइएको छ । “जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्सहरुमा अक्सिजनको व्यवस्था नहँुदा बिरामीहरुलाई बाटामा समेत स्वास्थ्य समस्या हुने गरेको स्थानीय समाजसेवी रमेश बुढा वताउनु हुन्छ । “बिरामी बोकेर गएका त्यस्ता एम्बुलेन्स बाटामा बिग्रँदा धेरै बिरामीले ज्यान गुमाएका छन्”, बुढाले भन्नुभयो । अस्पतालले रिफर गरेको आफ्नो भाञ्जाको एम्बुलेन्समा अक्सिजन सकिँदा ज्यान गुमाएको पीडा बुढाले व्यक्त गर्नुभयो । जिल्लामा विशेषज्ञ सेवा नभएकाले यस्तो समस्या देखिएको रोल्पा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाको भनाइ छ । “जिल्लामै विशेष सेवा उपलब्ध भए यस्ता समस्या हल हुँदै जान्छन्” डा बुढाले भन्नुभयो, “अस्पतालमा दिन सकिने जति सेवा दिइरहेका छौँ, थप सेवाका लागि जिल्ला बाहिर रिफर गर्नुको विकल्प हुँदैन ।”

बन्दाबन्दीयता रोल्पा अस्पतालमा २३२ जनाले प्रसूति सेवा लिएका छन् । तीमध्ये १८३ जनालाई सामान्य, ४७ जनाको जटिल शल्यक्रिया र दुई जनाको भ्याकुम मेसिनबाट प्रसूति सेवा दिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । रोल्पामा एक जिल्ला अस्पताल र दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित ७२ वटै वडामा स्वास्थ्य संस्था रहे पनि भौगोलिक विकटता, दक्ष स्वास्थ्यकर्मी र यातायातको असहजताका कारण हरेक वर्ष गर्भवती र नवजात शिशुले अकालमा ज्यान गुमाउने क्रम बढ्दो छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology