• Sunday 2nd of August 2026

धानमा फड्के किराको प्रकोप


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यहाँको महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका धानबालीमा फड्के किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । “हामी स्थलगत अनुगमनमा निस्केका छौँ, अन्त भन्दा महाकाली नगरपालिकामा प्रकोप बढी देखिएको छ ।” उहाँले त्यहाँ अनुगमनका क्रममा डेढ बिघामा लगाएको धानबाली प्रकोपका कारण क्षति पुगेको बताउनुभयो । “सो नगरपालिकामा १० हेक्टर धानबाली प्रभावित छ”, भट्टले भन्नुभयो, “अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको छ ।”

त्यसैगरी भीमदत्त नगरपालिका–२, १८ र १९ का साथै बेदकोटका केही वडामा यसको प्रकोप देखिएको ज्ञान केन्द्रले जनाएको छ । “पाक्न लागेको, पसाउन लागेकोलगायत सबै प्रकारका धानमा प्रकोप देखिएको छ”, उहाँले भन्नुभयो, “हामीले सबै पालिकाका कृषि शाखाका कर्मचारीलाई प्रकोपबारे अनुगमन गर्न भनेका छौ ।” किसानले भने पाक्न लागेको धानबालीमा प्रकोप देखिएपछि चिन्तित बनेका छन् । यहाँको महाकाली नगरपालिकाका विष्णुदत्त भट्टले आफूले लगाएको धानबावलीमा पूर्ण रुपमा प्रकोप देखिएको बताउनुभयो ।

“तीन बिघा खेतमा लगाएको धानबालीमा प्रकोप देखिएपछि परिवार पाल्ने चिन्ता बढेर आयो”, उहाँले भन्नुभयो, “यस्तो प्रकोप यहाँ पहिलो पटक देखिएको हो ।” गत सातादेखि धानमा प्रकोप देखिएपछि किसानले नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक नभएको बताएका छन् । स्थानीय रुद्रलाल सुनारले धानबालीमा फड्के किराको प्रकोप देखिएको बताउनुभयो । “प्रकोपले खानै नहुने स्थिति बनेपछि सरकारले पनि हामीलाई क्षतिपूर्ति वा राहत दिनुपर्छ”, सुनारले भन्नुभयो, “यस्तो महामारीका बेला झन् अर्को समस्या थपियो ।”

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology