• Sunday 2nd of August 2026

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव, सेवाग्राहीलाई सास्ती


  • गोकर्णेश्वर अनलाइन

जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय हुम्लामा दरबन्दीअनुसारका कर्मचारी नभएपछि सेवा प्रभावित हुने गरेको छ । दरबन्दी अनुसारका कर्मचारी अभावले प्रमुख जिल्ला अधिकारी कार्यालयका सामान्य काममै अल्मलिएपछि शान्ति सुरक्षालगायतका महत्वपूूर्ण काम प्रभावित भएका हुन् ।

कार्यालयमा प्रजिअ, सहायक प्रजिअ, तीन नायबसुब्बा, चार खरिदारको दरबन्दीमध्ये पूरा कर्मचारी नभएपछि नियमित काम प्रभावित भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताउनुभयो । “एकैजनाले दुई÷तीन फाँट धान्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयका अधिकांश फाँट बन्द हुने अवस्थामा छन् ।”

बोर्डमै सिमित इलाका प्रशासन कार्यालय

हुम्लाको सर्केगार्ड गाउँपालिकामा इलाका प्रशासन कार्यालयको बोर्ड टाँसिएको तीन वर्ष बितेको छ । इलाका प्रशासन कार्यालय सर्केगार्ड भनेर बोर्ड मात्रै टाँगिएको भए पनि काम सञ्चालनमा आउन सकेको छैन । इलाका प्रशासन कार्यालयबाट नेपाली नागरिकता र राहदानीको सिफारिस पाउनु पर्ने भएपनि सर्केगाड इलाका प्रशासन कार्यालयबाट नागरिकले ती कुनै सेवा लिन पाएका छैनन् । नागरिकता र राहदानीको सिफारिस लिन सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता भएको स्थानीयवासीले दुःखेसो गरेका छन् ।

एक निर्वाचन क्षेत्रमा कम्तीमा एक इलाका प्रशासन कार्यालय राख्ने कानूनी व्यवस्थाअनुसार सर्केगाडमा इलाका प्रशासन कार्यालय स्थापना भएको तीन वर्ष पुग्यो । कर्मचारी अभावले सेवा सञ्चालन नभएपछि त्यस क्षेत्रका सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई सामान्य कामका लागि पनि दुईदेखि चार दिनको पैदल हिंडेर सदरमुकाम सिमकोट पुग्नु पर्ने बाध्यता छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology