• Sunday 2nd of August 2026

गर्भवती र सुत्केरीका लागि प्रभावकारी बन्दै हवार्ई उद्धार


  • गोकर्णेश्वर अनलाइन

जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि गण्डकी प्रदेश सरकारले गर्दै आएको हवाई उद्दार प्रभावकारी देखिएको छ । प्रदेश सरकारले साढे दुई वर्ष अघि देखि गण्डकी प्रदेशका दुर्गम जिल्लामा समस्यामा परेका सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गर्ने नीति लिएको छ । हवाई उद्दारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन् । सुत्केरी तथा गर्भवतीलाई जटिल प्रकारको समस्या देखिदा दुर्गमताका कारण स्थलमार्गमार्फत अस्पताल पु-याउन असम्भव भएको समयमा हवाई उद्दार गरिँदै आएको छ । शुरुमा बागलुङमा सङ्घीय सरकारको महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्दारसम्बन्धी कार्यविधि–२०७५ अनुसार उद्दार गरिएकामा अहिले गण्डकी प्रदेश सरकारले निःशुल्क हवाई उद्दारको कार्य गर्दै आएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी एंव प्रशासकीय अधिकृत धीरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्र्तगत हालसम्म ११ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरिएको छ । गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्दार कार्यक्रमअन्र्तगत साढे दुई वर्षको अवधिमा बागलुङ जिल्लाको विभिन्न पालिकाबाट हालसम्म ११ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरि विभिन्न अस्पतालमा पठाइएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सुशीला आचार्यले जानकारी दिनुभयो । “राष्ट्रपति हवाई उद्दार कार्यक्रमअन्र्तगत सङ्घीय सरकारले समेत गम्भीर समस्या भएकाको हकमा उद्दार गर्दै आएको छ,” उहाँले भन्नुभयो “गण्डकी प्रदेश सरकारले समेत दुर्गमका जिल्लाबाट हवाई उद्दार गर्दै आएकोमा हालसम्म बागलुङमा ११ जनाको उद्दार गरिसकेको छ ।”

एक पटक हवाई उद्दार गर्दा समय तथा दूरीका हिसावले रु एक लाख २५ हजारदेखि तीन लाखसम्म खर्च हुने गरेको छ । सूचना अधिकारी आचार्यका अनुसार, बागलुङ जिल्लामा सबैभन्दा धेरै ढोरपाटन नगरपालिकाका सुत्केरी तथा गर्भवतीको उद्दार गरिएको छ । ढोरपाटबाट पाँच, गलकोटबाट एक र बागलुङ नगरपालिकाबाट एक तथा बडिगाडबाट दुई, तमानखोलाबाट एक र बरेङ गाउँपालिकाबाट एक जना गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दार गरिएको छ । हवाई उद्दार निकै खर्चिलो भए पनि दुर्गमताकै कारण गर्भवती, सुत्केरी तथा नवजात शिशुले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले सञ्चालित अभियानले धेरैले नयाँ जीवन पाइरहेका छन् । बागलुङ जिल्ला भौगोलिक हिसाबले निकै असहज भएको र जिल्ला सदरमुकामको अस्पतालमा समेत बिरामी ल्याउन दिनभर लाग्ने भएकाले प्राथमिकतामा राखेर हवाई उद्दार गरिदै आएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

बागलुङ जिल्ला मध्ये बागलुङ नगरपालिका हवाई उद्दार गर्ने क्षेत्रमा नपर्ने भए पनि गर्भवती तथा सुत्केरीको अवस्था र जटिलता अनुसार स्थानीय सरकारले समेत पहल गर्दै आएको छ । भौगोलिक र आर्थिक अवस्थाका कारण तत्कालै सुविधा सम्पन्न अस्पतालमा पु-याउन नसक्ने अवस्थाका नागरिक यसबाट बढी लाभान्वित छन् । लगातार लामो प्रसव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएमा, गर्भमा नै शिशुको मृत्यु भएमा, गर्भवती अवस्थामा अत्याधिक शरिर सुन्निएमा, सुत्केरी पश्चात अत्यधिक रक्तश्राव भएमा र रक्त अल्पता भएको गर्भवती भएमा हवाई उद्दार गरिदै आएको छ । हवाई उद्दारका लागि स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई सम्बन्धित प्रमुख जिल्ला अधिकारी अथवा स्थानीय तहको प्रमुखको समन्वयमा हवाई उद्दार गरिँदै आएको छ ।

यो पनि हेर्नुहोस:

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology