• Sunday 2nd of August 2026

डा. विश्वकर्मा प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित


  • गोकर्णेश्वर अनलाइन

नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा) २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास लेखन सम्मान’ बाट सम्मानित हुनुभएको छ । हाल उहाँ बागमती प्रदेश सरकारका प्रमुख सचिव हुनुहुन्छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २६ औं वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित विशेष भर्चुअल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही र नेपानका अध्यक्ष झविन्द्र भण्डारीले संयुक्तरुपमा उहाँलाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।

सम्मानपत्रसहित रु १० हजार राशिको सो सम्मान प्राप्त गर्ने डा. विश्वकर्मा तेस्रो व्यक्ति हुनुहुन्छ । यसअघि २०७५ सालमा सहप्राध्यापक गम्भीरबहादुर हाडा र २०७६ सालमा द्वन्द्वविद् डा. विष्णुराज उप्रेतीले यो सम्मान प्राप्त गरिसक्नुभएको छ । डा. विश्वकर्माका करीब एक दर्जन कृति समावेशी विकास सवालमा केन्द्रित छन् भने थप एक दर्जनजति कृति व्यवस्थापनसम्बद्ध कलेजका विद्यार्थीहरूलाई लक्षित गरी लेखिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल र पत्रपत्रिकाहरूमा समेत उहाँका थुप्रै लेखहरू प्रकाशित छन् ।

नेपानका निवर्तमान अध्यक्ष चेतनाथ कणेलले आफ्नो स्व. सुपुत्र प्रसिद्ध कणेलको स्मृतिमा २०७४ सालमा नेपानमा एक लाख रुपैयाँको अक्षयकोष राखी सोको ब्याजबाट २०७५ सालदेखि हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाई पुस्तक प्रकाशन गरेका व्यक्तिलाई सम्मान गर्ने परम्पराको थालनी भएको नेपानका अध्यक्ष झविन्द्र भण्डारीले बताउनुभयो । नेपान सञ्जालमा हाल सातै प्रदेशका करिब ३०० जना विकासकर्मीहरू सदस्य रहेका छन् । ‘सहभागिता’ नामक नेपाली विकास म्यागाजिन र ‘पार्टिसिपेसन’ नामक अङ्ग्रेजी जर्नल पनि यस संस्थाबाट नियमितरूपमा प्रकाशन हुँदै आएका छन् ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology